काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षण पेशामा लागेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीका एक शिक्षकविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ निवासी कृष्णबहादुर खन्नाहाले झुट्टा प्रमाणपत्रका आधारमा शिक्षकको ओहोदा र सुविधा लिएको पाइएको भन्दै आयोगले सोमबार आरोपपत्र दायर गरेको हो।
खन्नाहाले श्री भवानी माध्यमिक विद्यालय, नवलपरासीमा २०५९ मङ्सिर १ गतेदेखि अस्थायी र २०७५ चैत २९ गतेदेखि सोही विद्यालयमा प्राथमिक तहको स्थायी शिक्षकका रूपमा नियुक्ति लिएका थिए।
अनुसन्धानका क्रममा उनले भारतको ‘नागाल्याण्ड बोर्ड अफ स्कूल एजुकेशन, कोहिमा’ बाट जारी भएको भनिएको नक्कली प्रवेश पत्र, लब्धाङ्क पत्र र माइग्रेसन सर्टिफिकेट पेश गरेको पाइएको अख्तियारले जनाएको छ। हाल उनी मणिसंगम माध्यमिक विद्यालय, विनयी त्रिवेणीमा प्राथमिक तह तृतीय श्रेणीको शिक्षकका रूपमा कार्यरत रहेका थिए।
नक्कली शैक्षिक योग्यताका आधारमा ओहोदा, लाभ र सुविधा प्राप्त गरी भ्रष्टाचार गरेको जिकिर गर्दै अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय मागदाबी गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।








































