वि.सं.२०८३ जेठ १० आइतवार

बागमती प्रदेश सभा : ८ महिनादेखि सभामुख पद रिक्त

khanepani

मकवानपुर । बागमती प्रदेश सभाको बजेट (बर्खे) अधिवेशन जेठ ११ गतेका लागि आह्वान गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले जेठ ११ गते दिउँसो १ बजेका लागि प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् ।

मुख्यतया सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गर्न अधिवेशन बोलाइएको हो । सोही अधिवेशनमा सभामुख चयन गर्नुपर्ने अवस्था छ । बागमती प्रदेश सभाको सभामुख पद ८ महिनादेखि रिक्त छ ।

तत्कालीन सभामुख भुवनकुमार पाठकले गत असोज १ गते नै आफ्नो पदबाट राजीनामा दिएका थिए । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका उनले औपचारिक पत्र असोज १ मा पठाएका थिए । प्रदेश सभा सचिवालयले उक्त राजीनामाको औपचारिक सूचना करिब दुई महिनापछि मंसिर ४ गतेमात्रै सार्वजनिक गरेको थियो ।

उपसभामुख अप्सरा चापागाईले सभा सञ्चालन र कार्यव्यवस्था परामर्श समितिको नेतृत्व गरिरहे पनि सभामुख नहुँदा प्रदेशका संवैधानिक प्रक्रियाहरू नै प्रभावित भएका छन् । सांसदहरूका अनुसार सभामुखको अनुपस्थितिले संवैधानिक नियुक्तिहरूमा जटिलता थपेको छ । हालै प्रदेश लोक सेवा आयोगको सदस्य नियुक्ति हुँदा सभामुखविना नै सिफारिस गरिएको थियो ।

राजनीतिक दलहरूबिचको आन्तरिक शक्ति सन्तुलन र भागबन्डा नमिल्दा यसअघिका अधिवेशनहरू जस्तै आगामी अधिवेशन पनि नेतृत्वविहीन अवस्थामै अघि बढ्ने आशंका प्रकट भइरहेको छ ।

हिउँदे अधिवेशनमा के–के भयो काम ?

बागमती प्रदेश सभाको गत चैत २४ देखि वैशाख ६ गतेसम्म सञ्चालन भएको हिउँदे अधिवशेनले २ वटा विधेयकमा सामान्य छलफल गरी समितिमा पाउने निर्णय गरेको छ । प्रदेश सभा सचिवालयका प्रवक्ता प्रकाश चापागाईँका अनुसार उक्त अधिवेशनमा २ वटा विधेयक दर्ता भई संसद्मा पेस भएका थिए ।

प्रदेशमा विपद् व्यवस्थापन र उत्तरदायित्व निर्धारणका लागि प्रदेश विपद् व्यवस्थापन विधेयक र प्रदेशभित्र खानेपानी र सरसफाइको व्यवस्थापन गर्न खानेपानी तथा सरसफाइ सम्बन्धी विधेयक दफावार छलफलका लागि संसदीय समितिमा विधेयक पठाइएको चापागाईंले बताए । दुवै विधेयक दफावार छलफलका लागि अर्थ तथा विकास समितिमा पठाइएको उनको भनाइ छ ।

हिउँदे अधिवेशन अन्तर्गत कुल ४ वटा बैठक बसेको उनले बताए । उनका अनुसार चैत २४, २५ र २६ गते तथा वैशाख ६ गते प्रदेश सभाको बैठक बसेको थियो । ती बैठकमा सांसदहरूले विशेष समय लिएर समसामयिक र जनचासोका विषयमा आफ्ना धारणा राखेका थिए भने संसद‍मा दर्ता भएका विभिन्न प्रतिवेदन पनि पेस भएका थिए । साथै, सभामुखको राजीनामा सम्बन्धी विषय पनि संसदमा पढेर सुनाइएको थियो ।

प्रवक्ता चापागाईका अनुुसार आगमाी अधिवेशनको एउटा मुख्य काम सभामुखको निर्वाचन हो । राजनीतिक दलहरूबिच सहमति हुन नसक्दा हिउँदे अधिवेशनमा सभामुख चयन हुन नसकेको उनले बताए । सभामुख नहुँदा उपसभामुखले नै संसदको नेतृत्व गरिरहेको उनको भनाइ छ । आगामी अधिवेशनमा संसदमा रहेका विधेयकहरू अघि बढाउनु, बजेट पेस गर्ने र पारित गर्ने, सभामुख चयन गर्नु मुख्य जिम्मेवारी रहने उनले प्रस्ट पारे ।

ranechhap