काठमाडौं । ललितपुरको ताल्सीखेलको नयाँ घरबाट प्रहरीले सुन बोकेको स्कोर्पियो बिहीवार साँझ बरामत गरेको छ ।
साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणमा प्रकरणमा संलग्न स्कर्पियो गाडी बरामद भएको छ । काठमाडौं प्रहरी परिसर, टेकुको सादा पोशाकको टोलीले बरामद गरेको बा ६ च ५५१९ नम्बरको स्कोर्पियो त्यही हो, जसमा सवार व्यक्तिले कमलादीमा चाँदी र सुनको पोको फ्याँकेर हिँडेको प्रहरी दाबी छ ।
तर, यस प्रकरणमा प्रहरी अधिकृतको भूमिका शंकास्पद देखिएपछि गठित एसएसपी मनोजकुमार यादव नेतृत्वको छानविन समितिले भने सुन्धारामा बरामद सामग्रीलाई कमलादीमा लगेर नक्कली घटनास्थल खडा गर्न खोजिएको प्रारम्भिक निष्कर्ष निकालिसकेको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले मंगलबारै पत्रकार सम्मेलन गरेर बरामद पहेँलो धातु सार्वजनिक गरेका थिए । त्यसक्रममा प्रहरीको खोजी सूचीमा रहेको गाडीको नम्बर सार्वजनिक हुँदा अभियुक्त गाडी लुकाएर भाग्न सफल भएका थिए ।
त्यसैगरि राईका छिमेकीका अनुसार भर्खरै निर्माण सकिएको राईको घरबाहिर फ्ल्याट खाली रहेको विज्ञापन टाँसिएको थियो । त्यही देखेर दुई जना युवती मंगलबार फ्याल्ट सोध्दै आएको घरबेटीका भाञ्जी सरिता राईले बताइन् ।
उनका अनुसार दिउँसो कोठा हर्न भएर आएका उनीहरुले २२ हजार रुपैयाँ मासिक तिर्ने गरी एउटा फ्ल्याटको डिल गरेका थिए । ‘एक जना महिलाले आफूहरु घरमा काम गर्ने भएको बताउनु भएको थियो साथै, आफूले कोठा हेरेपछि साहुले पनि हेर्नु नपर्ने बताउनु भएको थियो’, राईले भनिन्, ‘त्यसपछि साहुलाई बोलाउँछु भनेर फर्किएका उनीहरु त्यो दिन आएनन् ।’
राईका अनुसार बुधबार दिउँसो भने आएर उनीहरुले अग्रिम १० हजार रुपैयाँ भुक्तानी गरेका थिए । घरबेटीले एक महिनाको आधा भाडा अगाडि नै दिनुपर्ने भनेपछि साँझ थप ५ हजार रुपैयाँ दिएको राई बताउँछिन् ।
त्यसपछि राति ९ बजे गाडी कम्पाउण्डमा ल्याएर एक जना पुरुषले गाडी राखेको राई बताउँछिन् । ‘बहिनी पनि थिइन्, गाडी राखेर आउँछन् होला भन्ने थियो’, उनले थपिन्, ‘तर, नआइकन गए, मैले मामालाई पनि जानकारी गराएँ । स्कोर्पियो भनेपछि भोलि आउलान् भनेर सुत्यौं ।’
तर, बिहीबार बिहानैदेखि अपरिचित व्यक्ति घर वरिपरि आउन थालेको आफूले नोटिस गरेको राईले बताइन् । पछि बुझ्दा उनीहरु प्रहरी भएको खुलेको थियो ।
घटनालगत्तै आरोपितले गाडी ललितपुरतिर लगेको खुलेपछि प्रहरीले गाडी फेला पार्न सकेको थिएन । अनुसन्धान अधिकृतहरुले त्यस क्षेत्र आसपास पनि खोजी गरे पनि कुनै सुराक हात परेको थियो । तर, बुधबार राति अभियुक्तको समूहले कहाँबाट गाडी त्यहाँसम्म ल्यायो भने खुलिसकेको छैन ।
बरामद गाडी बाराका इन्साद हुसिनको भएको खुलेको छ । उनी नक्कली नोट कारोबारको अभियोगमा कारबाहीमा परिसकेका व्यक्ति हुन् ।
प्रहरीले प्रकरणमा संलग्न भएको अभियोगमा देवान पटेल, विजय पटेल र निलेश सखियालाई पक्राउ गरिसकेको छ । उनीहरुलाई पूर्वी नवलपरासीको दुम्कीबास क्षेत्रबाट पक्राउ गरिएको थियो ।