दुई दशकदेखि क्रिकेटका सक्रिय अम्पायर भास्कर अर्याल जण्डिसबाट पीडित थिए ।
काठमाडौं । विगत दुई दशकदेखि नेपाली क्रिकेट अम्पायरको भूमिकामा सक्रिय रहँदै आएका भास्कर अर्यालको निधन भएको छ । उनी करिव एक महिनादेखि जण्डिस रोगबाट पीडित थिए ।
विराटनगर–४ निवासी ४६ वर्षीय अर्यालको आइतबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी गराएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनको दुई सातासम्म अस्पतालमा उपचार गरिएको थियो । चिकित्सकले थप उपचार सम्भव नरहेको जानकारी दिएपछि गत साता आफन्तले उनलाई घर फर्काएका थिए ।
निवासमै उपचारका क्रममा आइतबार बिहान उनको निधन भएको हो । उनले स्थानीयदेखि विभिन्न प्रतियोगितामा अम्पायरिङ गर्दै क्रिकेट खेलको विकास र व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएका थिए ।
उनी क्रिकेटका लेभल–वान अम्पायर थिए । उनको परिवारमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
उनको निधनप्रति कोशी प्रदेश क्रिकेट संघ तथा नेपाल क्रिकेट संघ (क्यान)ले गहिरो दुःख व्यक्त गरेका छन् । दुवै संस्थाले सामाजिक सञ्जालमार्फत अर्यालको निधनले क्रिकेट खेलको विकासमा अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् । अर्यालको आजै दिउँसो विराटनगरस्थित परोपकारघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।








































