काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको संसद्मा देखिएको व्यवहारप्रति आपत्ति जनाएको छ ।
सरकारको नीति तथा कार्यक्रम प्रश्तुत भइरहेका बेला प्रधानमन्त्री बालेन्द्र साह संसद बैठकको बीचैबाट बाहिरिएको घटनालाई काँग्रेसले ‘अमर्यादित र दुर्भाग्यपूर्ण’ संज्ञा दिएको हो । मंगलवारुको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदको गरिमा र इज्जतमा आँच पुग्नेगरी प्रधानमन्त्रीले व्यवहार प्रदर्शन गरेको आरोप लगाए । उनले विश्वका कुनै पनि मुलुकमा सरकारको नीति तथा कार्यक्रम प्रश्तुत भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर हिँडेको इतिहास नरहेको भन्दै यसलाई व्यङ्ग्यात्मक रूपमा ‘गिनिज बुक’मा नाम लेखिने विषय भएको टिप्पणी गरे।
नेता आङदेम्बेले प्रधानमन्त्रीको अचानकको बहिर्गमनलाई स्वास्थ्य अवस्थासँग जोड्दै यसबारे संसद्लाई आधिकारिक जानकारी दिन माग गरे। आङदेम्बेले प्रधानमन्त्रीको मन स्थिर र शान्त नदेखिएको उल्लेख गर्दै सत्ताको भार अपेक्षा गरेभन्दा बढी भएका कारण यस्तो व्यवहार देखिएको हुनसक्ने संशय व्यक्त गरे। प्रधानमन्त्रीको अहङ्कारपूर्ण व्यवहारले जनताको मन कुडिएको र देशकै शिर झुकेको उनको दाबी छ ।
उनले भने, ‘प्रधानमन्त्रीको स्वास्थ्य स्थिति गम्भीर बनेर उहाँ हिँड्नुभएको हो भने अविलम्व स्वास्थ्य परीक्षण गरी संसद्लाई जानकारी गराइयोस् । प्रधानमन्त्री रास्वपाको मात्र नभई राष्ट्रकै सम्पत्ति भएकाले उहाँको स्वास्थ्यप्रति हामी पनि चिन्तित छौँ ।’
सम्बोधनका क्रममा उनले सभामुखको भुमिकाप्रति पनि प्रश्न उठाए। सदनलाई मर्यादित र व्यवस्थित बनाउने जिम्मेवारी सभामुखको भएपनि प्रधानमन्त्री बीचैमा निस्कँदा सभामुख मौन रहेको भन्दै उहाँले आश्चर्य व्यक्त गरे। यो घटनाले सदनको गरिमामा दाग लागेको महशुस भएको उनको भनाइ छ ।









































