काठमाडौँ । अमेरिकाले यूएफओ अर्थात् अज्ञात उड्ने वस्तुसँग सम्बन्धित बहुचर्चित गोप्य फाइलहरूको पहिलो खेप सार्वजनिक गरेको छ ।
शुक्रबार सार्वजनिक गरिएका यी फाइलहरूमा सयौँ नयाँ भिडिओ, तस्बिर तथा पुराना सरकारी अभिलेख समावेश छन् । विशेषगरी नासाको अपोलो अभियानसँग जोडिएका तस्बिर र अन्तरिक्ष यात्रीबीचको संवादले विश्वभर चासो बढाएको छ ।
सार्वजनिक दस्तावेजमा नासाको अपोलो–१२ र अपोलो–१७ अभियानसँग सम्बन्धित तस्बिर तथा संवादका अभिलेख राखिएका छन् । एउटा तस्बिरमा चन्द्रमाको सतह माथिको आकाशमा तीन वटा रहस्यमयी बिन्दु देखिएको दाबी गरिएको छ ।
सबैभन्दा धेरै चर्चा अपोलो–१७ अभियानको संवाद अभिलेखलाई लिएर भइरहेको छ । उक्त अभिलेखमा अन्तरिक्ष यात्रीहरूले उडानका क्रममा अन्तरिक्षयान नजिक चम्किरहेका वस्तु देखिएको बताएका छन् ।
एक सञ्चालकले नियन्त्रण कक्षसँग संवाद गर्दै ‘हाम्रा वरिपरि केही चम्किला कण वा टुक्रा गुज्रिरहेको देखियो’ भनेका छन् । त्यसको जवाफमा अर्का सञ्चालकले ‘मेरो झ्याल बाहिर धेरै चम्किरहेका वस्तु देखिएका छन्, दृश्य आतिशबाजी जस्तै लागिरहेको छ’ भनेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही महिनाअघि रक्षामन्त्री पेट हेगसेठलाई यूएफओ तथा कथित एलियन गतिविधिसँग सम्बन्धित अभिलेख सार्वजनिक गर्न निर्देशन दिएका थिए ।
फाइल सार्वजनिक भएपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत सरकारका विभिन्न निकायलाई एलियन जीवन, यूएफओ तथा यूएपीसँग सम्बन्धित जानकारी जनतासामु ल्याउन निर्देशन दिएको बताएका छन् ।
यी फाइल सार्वजनिक भएपछि सामाजिक सञ्जालमा एलियन जीवन र यूएफओबारे बहस तीव्र बनेको छ । तर अमेरिकी सरकारले यसअघि पनि एलियन जीवन वा एलियन प्रविधिको ठोस प्रमाण अहिलेसम्म फेला नपरेको स्पष्ट गर्दै आएको छ ।
पेन्टागनका अघिल्ला प्रतिवेदनहरूमा धेरै यूएफओ भिडिओ तथा तस्बिर अन्ततः सैन्य प्रविधि वा प्राकृतिक घटनासँग सम्बन्धित रहेको उल्लेख गरिएको थियो ।
सार्वजनिक गरिएका दस्तावेजमा सन् १९९९ को नयाँ वर्षको पूर्वसन्ध्यामा अमेरिकी सङ्घीय अनुसन्धान निकाय एफबीआईले खिचेका केही तस्बिर पनि समावेश छन् । ती तस्बिरमा अमेरिकी सैन्य विमान नजिक केही रहस्यमयी वस्तु देखिएको दाबी गरिएको छ । साथै सैन्य चालकहरूले खिचेका तस्बिरमा तीव्र गतिमा उडिरहेका वस्तु विमान नजिकबाट गुज्रिएको देखिन्छ ।
एक गोप्य सैन्य प्रतिवेदनमा एक अधिकारीले आकाशमा धेरै चम्किला वस्तु तीव्र गतिमा अघि बढिरहेको देखेको बताएका छन् । प्रतिवेदनअनुसार तीमध्ये एउटा वस्तुलाई विमानको लक्ष्य प्रणालीले करिब २० सेकेन्डसम्म पछ्याएको थियो, तर पछि त्यो अचानक हराएको उल्लेख छ ।
नयाँ यूएफओ फाइलमा ओमानको खाडीमाथि देखिएको एउटा रहस्यमयी वस्तुको तस्बिर पनि सार्वजनिक गरिएको छ । सन् २०२४ मा इन्फ्रारेड संवेदकले आँसु आकारको तीव्र गतिमा उड्ने वस्तु अभिलेख गरेको दाबी गरिएको छ ।
यद्यपि अमेरिकी अधिकारीहरूले यी सबै प्रत्यक्षदर्शीका बयान मात्रै भएको स्पष्ट पारेका छन् । यसलाई एलियन वा यूएफओको आधिकारिक पुष्टि मान्न नहुने उनीहरूको भनाइ छ ।
अमेरिकी सांसदहरूले शुक्रबार सार्वजनिक गरिएका दस्तावेज केवल सुरुआत मात्र भएको बताएका छन् । आगामी दिनमा थप अभिलेख सार्वजनिक गरिने जनाइएको छ । तर अर्को चरणको फाइल कहिले सार्वजनिक हुन्छ भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन ।
रक्षा मन्त्री हेगसेथले सरकारले यूएफओसम्बन्धी विषयमा बढी पारदर्शिता अपनाउन चाहेको बताएका छन् । जनतालाई सकेसम्म धेरै जानकारी उपलब्ध गराइने र त्यसपछि घटनाको अर्थबारे निष्कर्ष निकाल्ने जिम्मा जनताकै हुने सरकारको भनाइ छ ।
केही दस्तावेजका अंशमा साक्षीको पहिचान तथा संवेदनशील सैन्य अड्डासम्बन्धी जानकारी लुकाउन कालो रेखा लगाइएको छ । तर अधिकारीहरूले घटनासँग सम्बन्धित कुनै महत्त्वपूर्ण जानकारी नलुकाइएको दाबी गरेका छन् ।








































