वि.सं.२०८३ वैशाख २२ मंगलवार

रुकुम पूर्वको पुथा उत्तरगङ्गामा कृषि योजनामा अनियमितता, आठ जनाविरुद्ध मुद्धा दायर

khanepani

काठमाडौँ । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१२ छमारीमा सञ्चालित कृषि योजनामा अनियमितता गरेको आरोपमा आठ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालन भएका बंगुर पकेट विकास कार्यक्रम र कागती पकेट विकास कार्यक्रम कार्यान्वयनका क्रममा व्यापक अनियमितता भएको निष्कर्षसहित आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्ट नारायण यादव, इन्जिनियर खुविराज शाही, सब–इन्जिनियर कमलप्रसाद केसी, योजना शाखा प्रमुख तथा कम्प्युटर अपरेटर चित्रबहादुर केसी, कृषि प्राविधिक ओमप्रकाश ओली, सह–लेखापाल नवराज खड्का, वडा नं. १२ का अध्यक्ष गंगाबहादुर पुन र सम्बन्धित कृषक समूह तथा कम्पनीका अध्यक्ष सुजन पुनबीच मिलेमतो भएको पाइएको छ ।

अनुसन्धानबाट योजनाअनुसार काम नगरी फिल्डमा नभएको कामलाई नापी किताबमा भएको देखाई बढी मूल्याङ्कन गरेर भुक्तानी लिएको पुष्टि भएको आयोगले जनाएको छ ।

बंगुर पकेट विकास कार्यक्रमतर्फ ९ लाख ६७ हजार ३७८ रुपैयाँ र कागती पकेट विकास कार्यक्रमतर्फ ११ लाख ६९ हजार ७६० रुपैयाँ बराबरको रकम हिनामिना तथा दुरुपयोग गरिएको आरोप छ ।

यसरी सरकारी सम्पत्तिमा हानी–नोक्सानी पुर्‍याई दुरुपयोग गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार कसूर ठहर हुने भन्दै आयोगले संलग्न सबै प्रतिवादीमाथि सजाय माग गर्दै मुद्दा दायर गरेको जनाएको छ ।

ranechhap