काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक लागि अपनाइएको डिजिटल प्रणालीले पार्टी र सदस्यहरूबीच सूचना आदानप्रदानलाई सहज रूपमा व्यवस्थापन गर्ने बताएको छ ।
कांग्रेसले फेसबुकमा भिडियो सामग्री पेस्ट गरेर डिजिटल प्रणालीले सक्रिय सदस्यहरूलाई सामाजिक अभियानसँगै सामाजिक सञ्जालमा पार्टीको पक्षमा पैरवी गर्न अत्यन्तै सहज हुने बताएको छ ।
‘पार्टीको सूचना सदस्यलाई र सदस्यको सूचना पार्टीलाई एकआपसमा पुर्याउन प्रणालीले सहज रूपमा व्यवस्थापन गर्ने छ,’ भिडियोमार्फत् महामन्त्री प्रदीप पौडेलले भनेका छन्, ‘सक्रिय सदस्यहरूलाई सामाजिक अभियानमा जोड्न होस् वा सामाजिक सञ्जालमा पार्टीको पक्षमा पैरवी गर्न अत्यन्तै सहज हुनेछ ।’
सदस्यता अद्यावधिक प्रक्रिया एकपटक गरेपछि बारम्बार गरिराख्नु नपर्ने भन्दै उनले एकपटकका लागि मेहनत गरिदिन सबैलाई अनुरोध पनि गरेका छन् । ‘यसका लागि आफ्नो वडामा गएर वडाका साथीहरूलाई समेत उत्साह थप्ने गरी आफ्नो सदस्यता अद्यावधिक गरिदिन हुन विशेष अनुरोध गर्दछु,’ महामन्त्री पौडेलले भनेका छन् ।
कांग्रेसले कारणवश वडामा जान नसक्ने अवस्था भएमा वडा सभापतिमार्फत् अनलाइनबाटै क्रियाशील सदस्यता अद्यावधिक गर्न सकिने पनि बताएको छ । ‘यदि, कुनै कारणवश वडामा जान नसक्ने अवस्था भएमा वडा सभापति मार्फत् अनलाइनबाटै तपाईंले अद्यावधिक गर्न सक्नुहुने छ,’ महामन्त्री पौडेलले भने ।
डिजिटल प्रणालीले पार्टीका सबै तह र संचरनाहरूलाई एक–आपसमा सजिलो गरी जोड्ने, पार्टीा विचार आदानप्रदान गर्न, पार्टीका निर्णयहरू सबै सदस्यहरूसम्म पुर्याउन, सदस्यहरूको सक्रियताबाट आमनागरिकमा पार्टीको धारणा, योजना र कार्यक्रमहरू पुर्याउन अत्यन्तै मद्दत गर्ने कांग्रेसले जनाएको छ ।
कांग्रेसले वडा सभापतिहरूले डिजिटल प्रणालीमा आफ्नो एकाउन्ट बनाएर वडाभित्रका सम्पूर्ण क्रियाशील सदस्यहरूको विवरण अद्यावधिक गर्न सक्ने व्यवस्था मिलाएको छ ।
‘अभियान वडाहरूमा उत्साहजनक ढंगले भइरहेको छ । हामीलाई यस अभियानमा सबै तहका साथीहरू सक्रिय रूपमा लागिरहनुभएको छ,’ पौडेलले भनेका छन्, ‘अभियान सम्पन्न भइसकेपछि सबै क्रियाशील सदस्यहरूको अभिलेख आगोले नजल्ने गरी र पानीले नभिज्ने गरी डिजिटल प्रणालीमा व्यवस्थित रूपमा रहने छ ।’








































