काठमाडौँ । केही दिनदेखिको वर्षासँगैको बाढी पहिराका कारण अवरुद्ध मुख्य राजमार्गहरु केही एकतर्फी रुपमा सञ्चालनमा आएका छन् ।
वैशाख १२ गतेको बाढीले अवरुद्ध भएको भोजपुर नगरपालिका–५ बोखिमको मध्यपहाडी लोकमार्ग, वैशाख १६ गतेको पहिराले अवरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड तथा लमजुङ मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङस्थित मध्यपहाडी लोकमार्ग एकतर्फी रुपमा सञ्चालन भएका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनु भयो ।
उनले भने, ‘बाढी र पहिराका कारण पूर्ण रुपमा अबरुद्ध भएका केही राजमार्ग र सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा ल्याइएका छन् । वैशाख १६ गतेको पहिराका कारण पूर्ण रुपमा अवरुद्ध भएको सिन्धुपाल्चोक भोटेकोशी–२ कोदारीस्थित अरनिको राजमार्गमा भने अहिलेसम्म सञ्चालन हुन सकेको छैन ।’
वर्षातको समयमा बाढी पहिराको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवम् सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।








































