काठमाडौँ । भारतले लिपुलेक बारे नेपालले पठाएको कुतिनितिक पत्रको जवाफ दिएको छ ।
भारतको विदेश मन्त्रालयले गएराती विज्ञप्ति जारी गर्दै कैलाश मानसरोवर यात्राको सन्दर्भमा सीमा विवादबारे नेपाल सरकारको परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको धारणा सम्बन्धी सञ्चारमाध्यमका जिज्ञासामा भारतले आफ्नो आधिकारिक प्रतिक्रिया दिएको जनाएको हो ।
भारतले यस विषयमा भारतको धारणा पहिलेदेखि नै स्पष्ट र निरन्तर रहेको बताउदै लिपुलेक क्षेत्र सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको पुरानो मार्ग भएको र यस मार्गबाट यात्रा दशकौँदेखि निरन्तर सञ्चालनमा रहेको उल्लेख गरेको छ । त्यसैले यसलाई नयाँ विषयका रूपमा लिन नमिल्ने भारतले बताएको छ ।
सीमासम्बन्धी दाबीका विषयमा भारतले यस्ता दाबीहरू न त उचित रहेको न त ऐतिहासिक तथ्य र प्रमाणमा आधारित रहेको बताएको छ । एकतर्फी रूपमा सीमाक्षेत्र विस्तार गर्ने प्रयास स्वीकार्य नहुने बताउदै भारतले नेपालसँग द्विपक्षीय सम्बन्धका सबै विषयमा रचनात्मक संवाद गर्न तयार रहेको जनाएको छ । विशेष गरी बाँकी रहेका सीमा सम्बन्धी विषयहरूलाई वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न भारत इच्छुक रहेको विज्ञप्तिमा स्पष्ट गरेको छ ।
यसअघि नेपालको परराष्ट्र मन्त्रालयले आइतबार नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोबर यात्रा सञ्चालन गर्न लागेको विषयमा भारत र चीनलाई विरोध पत्र पठाएको जनाएको थियो । मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको बताएको थियो ।








































