काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई स्वागत गरेको छ।
जसपाको ठाकुर-महतोनिकट नेता सर्वेन्द्र नाथ शुक्लाले आफ्नो पार्टी ताजा जनादेशको पक्षमा रहेको बताए।
‘एमाले र जसपामा अस्थिरताको द्योतक देखियो। अराजकता देखियो। यस्तो अवस्थामा प्रधानमन्त्रीसँग प्रतिनिधि सभा विघटनको विकल्प थिएन,’ उनले भने, ‘प्रधानमन्त्रीले संविधानसम्मत ढंगले काम गरेकाले अब निष्पक्ष निर्वाचनका लागि सबैले सहयोग गर्नुपर्छ।’
संविधानको धारा ७६ को उपाधारा (५) अन्तर्गत सरकार बन्न नसक्ने निर्धारण गर्ने राष्ट्रपतिको स्वविवेकीय अधिकार हो, भन्दै उनले उपाधारा (५) अन्तरगत सरकार नबनेपछि प्रधानमन्त्री ओलीसँग अरु विकल्प नरहेको समेत उनले बताए।
सरकारले आफ्ना माग पूरा गर्दै गएकाले सरकारमा सहभागी हुने विषयमा आफूहरू सकारातमक रहेको बताए।








































