वि.सं.२०८३ वैशाख १५ मंगलवार

राप्रपा उपाध्यक्ष विक्रम पाण्डेमाथि ८ दिन म्याद थपेर अनुसन्धान हुँदै

khanepani

काठमाडौं । ठेक्कापट्टामा अनियमितता गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष विक्रम पाण्डेको ८ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत काठमाडौंले हिजो उनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाण्डेलाई शुक्रबार पक्राउ गरेको थियो । निर्माण व्यवसायीसमेत रहेका उनी कालीका कन्स्ट्रक्सनका सञ्चालक हुन् । उनीसहित यो प्रकरणमा अहिलेसम्म १३ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको सीआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । उनीहरुमध्ये ७ जना निर्माण व्यवसायी छन् ।

पाण्डेमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन प्रणाली (इ बिडिङ) मा अनाधिकृत पहुँच पुर्याएर ठेक्काहरुको विवरण हेरफेर गरेको विषयमा उजुरी परेको थियो । कार्यालयले आर्थिक प्रस्ताव खोल्नुभन्दा अगाडि नै आफ्नो प्रस्ताव संसोधन गरेर ठेक्का हत्याउन गरेको पाइएपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो ।

सोही दिन भिषण कन्स्ट्रक्सन प्रालिका सञ्चालक सामाखुशी निवासी टंककुमार श्रेष्ठ र चपुर निर्माण सेवा प्रालीका सञ्चालक काठमाडौंको बानियाटार बस्ने अमृत बोहरालाई पनि पक्राउ गरिएको थियो ।

संगठित अपराध निवारण ऐन अन्तरगतको कसुरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

ranechhap