काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले न्यायपालिकाको गरिमा जोगाउन न्यायाधीश र कानुन व्यवसायीहरूमा उच्च नैतिकता, इमानदारिता र कर्तव्यनिष्ठा हुनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौं विश्वविद्यालयको नेपाली कानूनी साहित्य समितिले आयोजना गरेको अन्तर्क्रियात्मक कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश रेग्मीले न्यायालयले जनआस्था जोगाउन नसके न्याय प्रणाली नै कमजोर हुने बताएका छन् ।
२०२८ सालमा २५ वर्षको उमेरमै न्याय सेवामा प्रवेश गरेका रेग्मीले सुरुवाती दिनहरू संघर्षपूर्ण रहने बताए । ‘कानुनी शिक्षा सैद्धान्तिक बढी र व्यवहारिक कम भएकाले नयाँ पुस्ताले सुरुवातमै मानसिक दबाब र झन्झट भोग्नुपर्छ,’ उनले भने । फैसला पश्चात् हुने दबाब, लालटिन आन्दोलन, गुटबन्दी र जुलुसजस्ता चुनौतीहरू आफूले प्रत्यक्ष सामना गरेको उनले बताए ।
रेग्मीले कानुन, न्याय र नैतिकतालाई न्यायलयको सबैभन्दा महत्त्वपूर्ण तीनवटा खम्बाका रूपमा व्याख्या गरे । ‘न्यायलयको प्रमुख कार्य भनेको जनआस्था र जनभावना मर्न नदिनु हो,’ उनले भने, ‘यदि न्यायाधीश र कानुन व्यवसायी इमानदार छन् भने जस्तोसुकै परिस्थितिमा पनि डराउनु पर्दैन ।’
उनले न्याय दिँदा ‘न्यायिक मन’ को प्रयोग गरी कानुनको अक्षर भन्दा पनि त्यसको परिणाम र विवेकलाई हेर्नुपर्ने बताए ।








































