कैलाली । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान सरकार उल्टो गतिमा हिँडिरहेको बताएका छन्।
प्रेस चौतारी नेपाल कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले युवाको विषयले रास्वपाले राम्रो जनमत पाएको तर पछिल्लो कार्यशैलीले सरकारको गति ठीक नभएको टिप्पणी गरे।
‘रास्वपाले पुस्तान्तरणको विषयले जनमत पाएको हो। यो सरकार र पार्टीलाई असफल हुने छुट छैन, तर पछिल्ला कामकारबाही ठीक छैनन्,’ उनले भने, ‘सरकार टाउकोले टेकेर उल्टो बाटोमा हिँडिरहेको छ, यसरी गन्तव्यमा पुग्न सकिँदैन। ’
सरकारका प्रारम्भिक गतिविधिहरूले लोकतन्त्र, सामाजिक न्याय र राष्ट्रियताप्रति प्रतिबद्धता नदेखिएको महरले स्पष्ट पारे। विदेशमा रहेका नेपालीलाई घर फर्काउने आश्वासन दिएर जनमत बटुलेको तर अहिले आफ्नै आश्वासन कार्यान्वयनमा सरकार असफल भएको उनको आरोप थियो।
‘आज दैनिक रूपमा नेपाली विदेश गइरहेका छन्। हिजो १०० दिनभित्र विदेशबाट नेपाली फर्काउने कुरा कहाँ गयो ?’ उनले भने, ‘आर्थिक वृद्धिदर हासिल गर्ने स्पष्ट योजना सरकारसँग छैन। शिक्षा, स्वास्थ्य लगायतका विषयमा पनि ध्यान छैन।’
प्रमुख सचेतक महरले सरकारले पूर्वाग्रह राखेर प्रतिशोध साधिरहेको समेत बताए। उनले सरकारले कानुनी राज्यको उपहास गरिरहेको समेत आरोप लगाए ।
‘३२ दिनमै सरकारका दुई मन्त्री फेर्नुपर्ने अवस्था आयो। सरकारका सांसदहरूको अभिव्यक्ति पनि त्यस्तै छ, जसले सरकारप्रति जनताको वितृष्णा बढाइरहेको छ,’ उनले भने, ‘सरकारले कानुनी राज्य स्थापित गर्न सकेको छैन। यो सरकार विधिको शासनको विपक्षमा देखिन्छ।’
सुकुम्बासी बस्तीमा बलप्रयोग गरिएको विषयप्रति पनि उनले विरोध जनाए।
‘पहिचानपछि मात्रै उनीहरूको व्यवस्थापन गर्नुपथ्र्यो। वास्तविक सुकुम्बासीहरूलाई समेत असर पर्ने गरी सरकारले ज्यादती गरेको छ,’ उनले भने।
सरकारको पछिल्लो रवैयाले जनतामा सास्ती बढ्ने संकेत गरेको भन्दै उनले संसद र सडक दुवैबाट खबरदारी गर्ने प्रतिबद्धता जनाए।
‘हामी संविधानले दिएको हकहरू स्थापित गर्न दृढतापूर्वक लाग्छौं। संसदमा हाम्रो कुरा नसुनेमा सडकमार्फत पनि आवाज उठाउँछौं,’ उनले भने।
उनले संसदमा विरोध झेल्न नसकेर सरकारले बैठक आह्वान गरेर पनि नबस्दै स्थगित गरेको आरोप लगाए। संसदीय दलको बैठकमार्फत सरकारको पूर्ण निगरानी गर्ने र जनताका मागहरू बुलन्द रूपमा संसदमा उठाउने उनले बताए।
अर्को प्रसंगमा महरले नेकपा एमालेभित्र बाहिर सुनिएजस्तो विवाद नरहेको स्पष्ट पारे।
‘नेकपा एमालेले भर्खरै ११औं महाधिवेशन सम्पन्न गरेको छ। आन्तरिक रूपमा छलफल भइरहेको छ। अहिले बाहिर सुनिएका जस्ता विवाद छैनन्,’ उनले भने, ‘लामो यात्राबाट एमाले यहाँ आइपुगेको हो, अहिले आत्तिनुपर्ने अवस्था छैन।’









































