वि.सं.२०८२ वैशाख ९ मंगलवार

अहंकारको वृक्षमा विनाशको फल लाग्छ: कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधान सामुहिक बलात्कारमा परेको आरोप लगाएका छन्।

शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेपछि सामाजिक सञ्जालमार्फत प्रवक्ता शर्माले भने, ‘बुझिराख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ!,’ उनले भने, ‘संविधानको सामुहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ।’

उनले सुरूमा भनेका छन्, ‘अहंकारको वृक्षमा विनाशको फल लाग्छ´, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो!’

यसैबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक रूपमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ।


यसअघि शुक्रबार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको निम्ति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेश गरेको दाबी अस्वीकृत गरिदिएकी थिइन्।

दुबैले गरेको दाबीमा आधार नपुगेको भन्दै राष्ट्रपति कार्यालयले मध्यरातमा निर्णय सार्वजनिक गरेको हो।

राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘दाबीकर्ता दुवै माननीय सदस्यहरूका समर्थनकर्ता भनिएका सदस्यहरू एक अर्कामा दोहोरो परेका, दलको निर्णय विपरीत एकले अर्कोलाई समर्थन गरेको समेत देखिएको र सम्बन्धित दलले मान्यता नदिन लेखी आएको समेत देखिएकोले नेपालको संविधानको धारा ८९ को खण्ड (ङ) समेत आकर्षित हुन सक्ने, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को परिच्छेद ६ का विषयहरू समेतलाई ध्यान दिंदै दाबीकर्ता दुवै माननीय सदस्यहरूले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ता दुवै माननीय सदस्यहरूको दाबी नपुग्ने देखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन।’

विज्ञप्तिमा प्रतिनिधि सभाका सदस्य ओलीले नेकपा (एमाले) का १२१ र जनता समाजवादी पार्टी, नेपालका ३२ जना सदस्यको समर्थन प्राप्त भएकोले धारा ७६ को उपधारा (५) र (६) बमोजिम प्रधानमन्त्री पदमा विश्वासको मत पाउन पर्याप्त आधार रहेको भनी पत्र पेस गर्नु भएको र जनता समाजवादी पार्टी, नेपालको ३२ जना सदस्यको समर्थन रहेको भनी सो पार्टीको तर्फबाट अध्यक्ष महन्थ ठाकुर र संसदीय दलको नेता राजेन्द्र महतोको हस्ताक्षर रहेको पत्र प्राप्त भएकोमा विज्ञप्तिमा उल्लेख छ।

उक्त दुवै दलका गरी १५३ सदस्यको समर्थन रहेको भनिएकोमा नेकपा (एमाले) का २६ जना सदस्य र जनता समाजवादी पार्टी, नेपालका १२ जना सदस्यले अर्का दाबीकर्ता शेरबहादुर देउवालाई समर्थन गरी हस्ताक्षर गरेको देखिएको भन्दै प्रधानमन्त्रीमा केपी ओलीको दाबी नपुगेको विज्ञप्तिमा उल्लेख छ।

यस्तै देउवाको तर्फबाट पेस भएको दाबीमा नेपाली कांग्रेसका ६१ जना, नेकपा (माओवादी केन्द्र) का ४९ जनाको हस्ताक्षर र सम्बन्धित पार्टीको पत्र तथा जनता समाजवादी पार्टी, नेपालका १२ जना, नेकपा (एमाले) का २६ जना तथा माननीय सदस्य श्री दुर्गा पौडेलको हस्ताक्षर सहित १४९ जनाको हस्ताक्षर रहेको, नेकपा (एमाले) बाट निर्वाचित सदस्यहरूको हकमा पार्टीको तर्फबाट अर्को दलका उम्मेदवारको पक्षमा हस्ताक्षर गरेका सदस्यहरूलाई मान्यता नदिन अनुरोध गर्दै निजहरूको हकमा दलीय अनुशासन विपरीत हस्ताक्षर गरेको पाइए प्रतिनिधि सभाको सदस्य नरहने गरी निष्कासन गरिने हुँदा हाल निजहरूको हस्ताक्षरको मान्यता नहुन भनी पार्टीका अध्यक्ष तथा संसदीय दलका नेताबाट लेखी आएको र जनता समाजवादी पार्टी, नेपालको तर्फबाट पनि पार्टीका सदस्यहरूले पार्टीको आचरण र मर्यादा विपरीत हस्ताक्षर गरिएको बुझिएकोले त्यसलाई अस्वीकृत गरी दिनुहुन भनी उक्त पार्टीका अध्यक्ष ठाकुर र संसदीय दलका नेता महतोको हस्ताक्षर सहितको पत्र प्राप्त भएको भन्दै शेरबहादुर देउवाको पनि प्रधानमन्त्रीमा दाबी नपुगेको विज्ञप्तिमा उल्लेख छ।