वि.सं.२०८३ वैशाख १३ आइतवार

भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर-चखेवा सडक पूर्णरूपमा बन्द

khanepani

भोजपुर । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर-चखेवा सडक पूर्णरूपमा बन्द भएको छ । भोजपुर नगरपालिका-५, बोखिमस्थित चाल्से खोल्सामा शनिबार राति आएको बाढीले मोटरेबल पुल बगाएपछि उक्त सडक खण्डमा यातायात सेवा ठप्प बनेको हो । यही सडक हुँदै भोजपुर-खोटाङ-काठमाडौं आवतजावत हुन्छ ।

बहाव तीव्र भएका कारण बाढीले पुल बगाएको स्थानीयले बताए । पुल बगेसँगै मध्यपहाडी लोकमार्गसँग जोडिने यो सडक खण्ड अवरुद्ध हुँदा दैनिक आवतजावतमा समस्या भएको छ । उक्त सडक बन्द भएपछि स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन समस्या भएको छ ।

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका-५ का वडाध्यक्ष फविन्द्र प्रधानले बताए ।

‘बाढीले पुल बगाएपछि वैकल्पिक उपाय खोज्दै छौ’, अस्थायी रूपमा सडक सञ्चालन गर्ने प्रयासमा छौँ’, उनले भने ।

सडक डिभिजन कार्यालय तुम्लिङटारले प्राविधिक टोली खटाएको जनाएको छ । टोलीले क्षतिको स्थलगत अध्ययन गरिरहेको र अस्थायी रूपमा सडक सञ्चालन गर्ने विकल्पबारे छलफल गरिरहेको छ । डोजर तथा अन्य उपकरण प्रयोग गरी सडक मर्मत तथा वैकल्पिक बाटो निर्माणको प्रयास भइरहेको छ ।

ranechhap