काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले सरकारले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयप्रति आपत्ति जनाएका छन्। जसपाका अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै निजी सञ्चारमाध्यमहरू लोकतन्त्रको महत्त्वपूर्ण स्तम्भ भएको बताएका छन्।
निजी सञ्चार माध्यमलाई कमजोर बनाउने उद्देश्यले गरिएको निर्णयलाई प्रेस स्वतन्त्रतामाथिको आक्रमणको भएको जनाएका छन्।
उनले भनेका छन्, ‘सञ्चार माध्यमहरूलाई सरकारी विज्ञापनबाट वञ्चित गर्नु भनेको स्वतन्त्र पत्रकारितालाई नियन्त्रणमा राख्ने प्रयास हो, जुन लोकतान्त्रिक मूल्य र मान्यता विपरीत छ। अतः जसपा नेपाल सरकारलाई उक्त निर्णय तुरुन्त फिर्ता लिन, प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा सञ्चारमैत्री नीति अवलम्बन गर्न जोडदार माग गर्दछ।’
आर्थिक सङ्कट व्यहोरिरहेका निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयप्रति पार्टी गम्भीर असहमति रहेको जनाएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘यो निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति बन्ने र अर्कोतिर प्रेस सेन्सरशिपको अवस्था सिर्जना भई आवाजविहीनको आवाज बनिरहेको स्वतन्त्र पत्रकारितामा प्रत्यक्ष असर पर्ने जसपा नेपालको ठहर छ ।’








































