वि.सं.२०८३ वैशाख ५ शनिवार

लेखा समिति सभापति खड्काको वाचा, अब ढिलासुस्ती स्वीकार्य हुन्न, विगतका जस्तो विसंगति दोहोरिँदैन

khanepani

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति भरत खड्काले जवाफदेहि भएर जिम्मेवारी सम्हाल्ने भएका छन्। निर्वाचित भएको घोषणा भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै विगतको अनुभव, विज्ञता समेतलाई प्रयोग गरेर आर्थिक सुशासन र वित्तीय अनुशासन कायम राख्ने गरी काम गर्ने बताए।

उनले भने, ‘विगतका केही विसंगतिहरू पनि छन्, अब ती दोहोरिनेवाला पनि छैनन्। अहिलेको मुलुकको माग भनेको आर्थिक अनुशासन र वित्तीय सुशासन हो। यो कायम नगरी मुलुक अगाडि बढ्दैन, सुशासनको अनुभूति पनि हुँदैन। कुनै पनि मुलुकको विकास, त्यो देशमा आर्थिक अनुशासन कायम छ कि छैन भन्ने कुराले निर्धारण गर्छ।’

पहिलो सुधार संघदेखि लिएर स्थानीय तहसम्म र विभिन्न निकायहरूमा आर्थिक अनुशासन र वित्तीय सुशासन कायम राख्नुपर्ने बताए।
उनले थपे, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र वा लेखा समितिलाई देखाएर काममा जुन ढिलासुस्ती भएको छ, अब यो कुरा हुन दिइँदैन। नेपालको मौजुदा संविधान र ऐन–कानुनभित्र बसेर सबै मन्त्रालय, विभाग, कार्यालय र संघसंस्थाहरूले काम गर्नुपर्छ। अब ढिलासुस्ती गर्ने छुट कसैलाई छैन। विभिन्न बहाना बनाएर काम नगर्ने प्रवृत्ति अब चल्दैन। त्यसैले यो परम्परा तोडेरै जानुपर्छ।’

केही गर्दा लेखाले समात्ला कि, अख्तियारले समात्ला कि भन्ने बहानाबाजी अब नचल्ने बताए। कानुनको परिधिभित्र बसेर काम समयमै गर्नुपर्ने भन्दै जनतालाई सेवा प्रवाहमा अब कसैले सम्झौता नगर्ने बताए।

उनले भने, ‘अहिलेको चेतना र परिवेशलाई हेरेर हामीले देशलाई ठिक ढङ्गले व्यवस्थापन गर्न सकेनौँ भने हाम्रो कुनै औचित्य रहँदैन। यो मेरो लागि चुनौती र अवसर दुवै हो। म दृढताका साथ यो समितिलाई अगाडि बढाउँछु।’

ranechhap