वि.सं.२०८३ वैशाख ३ बिहीवार

काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

khanepani

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै विशेष अदालत काठमाडौँमा आरोपपत्र पेश गरेको हो ।

आयोगका अनुसार तिवारीले सार्वजनिक पदमा रहँदा पदीय मर्यादाविपरीत कार्य गर्दै अवैध रूपमा सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा २०४४ साल भदौ १९ गतेदेखि २०७८ साल वैशाख ९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरिएको थियो ।

उक्त अवधिमा तिवारी तथा उनको परिवारले विभिन्न स्रोतबाट आर्जन गरेको कुल वैध आय १४ करोड ५१ लाख ९१ हजार ३५६ रुपैयाँ देखिएको छ । तर सोही अवधिमा घरजग्गा खरिद, निर्माण, शेयर लगानी, बीमा, सामाजिक खर्चलगायत शीर्षकमा २५ करोड ६ लाख ८७ हजार २२७ रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ ।

आयोगका अनुसार कुल आयभन्दा खर्च तथा लगानी बढी देखिएकाले १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

त्यस्तै, सो सम्पत्ति श्रीमती मीना देवी तिवारी र छोरी मीरा तिवारीको नाममा समेत रहेको पाइएको भन्दै उनीहरूलाई समेत प्रतिवादी बनाइएको छ ।

आयोगले तिवारीसहित तीन जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी कसुरमा कानुनअनुसार कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

ranechhap