काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको विषयमा टुंगो नलागिसकेको बताएका छन् । भारतीय प्रधानमन्त्रीबाट निम्तो आएको तर भ्रमणको तिथि टुंगो नलागेको उनको भनाइ छ ।
आज मोरिससबाट फर्किएपश्चात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देशसँगै भ्रमणको निम्तो पनि आएको जानकारी दिए ।
उनले भने, ‘बधाइसँगै निम्ता पनि आएको थियो । अस्ति भारतका विदेशमन्त्रीसँग मेरो संवाद हुँदा पनि यो विषयमा छलफल भएको छ । नेपालमा नयाँ सरकारले आफ्नो प्राथमिकता निर्धारण गरेर दुईवटा मन्त्रालयहरुबीचको प्राविधिक संयन्त्रले आफ्नो काम पूरा गरेपछि उच्चस्तरीय राजनीतिक भ्रमण गर्ने कुरा मैले राखेको छु ।’
नेपाल र भारतबीच ४० भन्दा बढी संयन्त्र रहेको र तीमध्ये केही निस्क्रिय अवस्थामा रहेको खनालले बताए ।
उनले थपे, ‘केही संयन्त्रलाई सक्रिय बनाउनुपर्ने छ । सबै संयन्त्रले आ-आफ्नो काम गरेर प्राविधिकरुपमा तयार भइसकेपछि मात्रै राजनीतिक भ्रमण सुरु गर्ने तयारी छ ।’
परराष्ट्रमन्त्री खनाल नवौं भारतीय महासागर सम्मेलनमा भाग लिन चैत २७ गते मोरिसस प्रस्थान गरेका थिए । उक्त सम्मेलनका क्रममा भारतीय विदेशमनत्री एस जयशंकरसँग खनालको साइडलाइन भेटवार्ता भएको थियो ।







































