काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले नीति निर्माण र कार्यान्वयनबीचमा देखिएको खाडल कम गर्न आवश्यक रहेको बताएका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले आयोजना गरेको ‘स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको राष्ट्रिय शिखर सम्मेलन’ समापन समारोहमा सम्बोधन गर्दै सचिव देवकोटाले नीतिहरुको कार्यन्वयनमा जोड दिनुपर्ने बताएका हुन् ।
उनले देश स्थिरताको चरणतर्फ उन्मुख रहेकोको उल्लेख गर्दै नयाँ सोचसहितको प्रणाली लागू गर्ने अवसर आएको पनि बताए ।
उनले सुशासनसँग जोडिएर निति नियम निर्माण गर्ने र त्यसको कार्यन्वयन गरी सेवा प्रवाहमा ध्यान दिनुपर्नेमा जोड पनि दिए ।
परिवर्तनको सानो काम बाट नै सुरुवात हुने भन्दै उनले शुरुमा आफ्नो व्यक्तिगत व्यवहारमा सुधार गर्न आग्रह गरे ।
‘अहिले हामी फरक स्थितिमा छौँ, अलिकति स्थिरतातिर देश गएको छ । नयाँ कुराहरु छन्, हामीले धेरै काम गर्यौँ, त्यसको समिक्षा गर्यौं । अब कसरी जानुपर्छ भनेर नयाँ सोचसहितको सिष्टम आईसकेको हुनाले त्यसलाई पनि आधार मानेर हामीले फ्याक्टहरु निर्माण गर्नुपर्नेछ,’ सचिव देवकोटाले भने, ‘एनएच आरसीले राम्रो गरिरहेको छ, हरेक वर्ष यहाँहरुकै संलग्नतामा राम्रो काम भइरहेको छ । तर अझ पनि म फोकस के मा गर्न चाहन्छु भने एउटै थलो जसबाट एआरपीपनि हुन्छ, जसबाट काम पनि हुन्छ, जसले निरिक्षण अनुगमन पनि गर्छ, त्यत्रो ठुलो जिम्मेवारी बोकेको संस्था अलिकति देशव्यापी रुपमा प्रदेशमा अलि बढी समेटिनुपर्छ ।’
अनुसन्धान, कार्यान्वयन र अनुगमन एउटै थलोबाट समन्वय हुने परिषद्को संरचना अझ बलियो बनाउनुपर्ने उनको भनाइ छ ।
‘अहिले धेरै युवाहरु रिर्सचको लागी काम गरिराख्नु भएको छ । अलि बढि सेवा विस्तारमा ध्यान दिनुपर्छ कि जस्तो मलाई लाग्छ । परिवर्तनको लागि ठूला कुरा र ठुलो सोच राख्ने त हो, तर सुरुवात चाँही सानोबाट हुनुपर्छ,’ उनले भने, ‘सबै भन्दा पहिला हामीले आफ्नो व्यवहारमा परिवर्तन गर्न जरुरी छ । आगामी दिनमा हुने रिसर्च सरकारको १०० बुँदे कार्यदिशा र यहाँको घोषणापत्रको आधामा हुनुपर्छ, त्यसो भएमा हामीले हाम्रा सेवाहरुमा सुधार गर्न सक्छौँ ।’








































