वि.सं.२०८३ वैशाख ३ बिहीवार

रुपन्देहीमा अवैध अनलाइन सट्टेबाजीमा संलग्न १८ भारतीयसहित २० जना पक्राउ

khanepani

रुपन्देही । रुपन्देहीका विभिन्न स्थानमा सञ्चालन भइरहेको अवैध अनलाइन सट्टेबाजीमा संलग्न १८ भारतीयसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले तिलोत्तमा नगरपालिकाका दुई स्थानबाट उनीहरुलाई विभिन्न सामग्रीसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रहरीका अनुसार तिलोत्तमा नगरपालिका–७ बाट ९ जना भारतीय नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्नेहरु भारतको उत्तर प्रदेश, बिहार र पश्चिम बंगालका विभिन्न जिल्लाका रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ३ थान ल्यापटप, २० थान मोबाइल र ५ थान हिसाब राख्ने रजिस्टर बरामद गरिएको छ ।

त्यसैगरी चैत २७ गते तिलोत्तमा नगरपालिका–१५, कोटिहवाबाट थप ११ जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक चन्दले बताए। पक्राउ पर्नेहरुमा भारतका विभिन्न स्थानका नागरिकसहित रुपन्देहीका एक पुरुष, एक महिला तथा सुर्खेत घर भई हाल रुपन्देही बस्दै आएकी एक महिलासमेत रहेको उनले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट २३ बन्डल भारतीय बैंकका चेकबुक, २५ थान एटीएम कार्ड, ९१ हजार ७२५ रुपैयाँ नगद, १ थान भारतीय पासपोर्ट, ३० थान आधार कार्ड, ६ थान ल्यापटप, २१ थान मोबाइल, ३ थान पेन ड्राइभ, ३ थान स्ट्याम्प छाप र १ थान राउटर बरामद गरेको जनाएको छ ।

चैत १९ गते तिलोत्तमा–७ बाट पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेश बलियाका प्रदिप गुप्ता, पवन कुमार, सतिश कुमार, बिहार सिवानका मनु कुमार सोनी र अमर कुमार, उत्तर प्रदेश गोण्डाका नर सिंह र राम असिस सिंह, पश्चिम बंगाल नदियाका सुदिप तो माझी तथा उत्तर प्रदेश बलियाका अबिशेष ठाकुर रहेका प्रहरीले जनाएको छ ।

यस्तै तिलोत्तमा–१५, कोटिहवाबाट पक्राउ पर्नेहरुमा भारतका संदिप कुमार, एम. डी. हाकिम, सतेन्द्र सिंह, श्याम सुन्दर, दिपक पाण्डे, रियाज अहमद, प्रदिप कुमार, तन्नु कुमारी र राखी झा रहेका छन् । साथै रुपन्देही ओमसतिया गाउँपालिका–१ का अक्लेश कुमार यादव र सुर्खेत घर भई हाल तिलोत्तमा–१५ बस्दै आएकी सिमा राना समेत पक्राउ परेका छन् ।

प्रहरी नायब उपरीक्षक चन्दले पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको र अनलाइन सट्टेबाजीमा संलग्न अन्य व्यक्तिहरुको खोजी तथा अनुसन्धान जारी रहेको बताए।

ranechhap