काठमाडौं । जनता समाजवादी पार्टी जसपा अध्यक्ष महन्थ ठाकुरले आफ्ना पक्षका सांसदहरुको बैठक बोलाएका छन् । बैठक बिहान १० बजे सिंहदरबारस्थित कार्यालयमा बोलाइएको हो ।
ठाकुर र महतो पक्षबाहेकका सांसदहरुलाई भने बैठकको खबर गरिएको छैन । उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षका एक नेताले आफूहरुलाई बैठकबारे जानकारी नभएको बताए ।
जसपाका नेता बिमल श्रीवास्तवले अध्यक्ष ठाकुरले बोलाएको बैठकमा समसामयिक राजनीतिबारे छलफल हुने बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसारको वैकल्पिक सरकार बनाउन दलहरुलाई शुक्रबार साँझ ५ बजेसम्मको समयसीमा दिएपछि नेताहरुको व्यस्तता एकाएक बढेको छ ।
जसपाले ओलीलाई साथ दिन्छ कि आफ्नै नेतृत्वमा सरकार गठन गर्न अघि सर्छ भन्ने चासो छ । यद्यपि ओलीलाई निरन्तरता दिने विषयमा जसपा विभाजित छ ।
महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग नजिकिएका छन् । तर अर्का अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले भने यो कदमलाई असंवैधानिक भन्दै खुलेर विरोध गरेको छ । यस्तो अवस्थामा जसपाको बैठकले लिने निर्णयलाई चासोका साथ हेरिएको छ ।