वि.सं.२०८३ वैशाख ३ बिहीवार

सामुदायिक सेवा चावहिलद्वारा नागरिक सुनुवाइको आयोजना, प्रहरी कार्यमा नागरिक सहकार्यबारे चर्चा

khanepani

काठमाडौं । सामुदायिक सेवा केन्द्र, चावहिलद्वारा आयोजित नागरिक सुनुवाइ तथा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापा विशिष्ट अतिथि थिए । कार्यक्रमको अध्यक्षता सेवा केन्द्रका अध्यक्ष दीपक आचार्यले गरेका थिए ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर ७, ८ र ९ वडाको प्रहरीकार्यमा नागरिक सहकार्यलाई प्रभावकारी बनाउन उक्त कार्यक्रमको आयोजना गरिएको प्रहरी वृत्त, गौशालाका प्रमुख प्रकाश श्रीमलले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एआईजी ईश्वर कार्कीले नेपाल प्रहरी नागरिकसँग सहकार्यका साथ समाजमा शान्तिसुरक्षा कायम गर्ने अठोट बोकेको चर्चा गर्दै नागरिक सुनुवाइ फलदायी रहेको बताए ।

काठमाडौं जिल्लाका प्रहरी प्रमुख एसएसपी रमेश थापाले गुण्डागर्दी र बिचौलियाविरुद्धको कारबाही प्रभावकारी भएको भन्दै त्यस्ता कारवाही जारी रहने बताए । लागु औषध दुर्व्यसनीको समस्या विकराल भएको भन्दै त्यसलाई नियन्त्रण गर्न प्रहरी-नागरिक सहकार्य जरुरी रहेको उनले बताए । समाज सुधारका लागि प्रहरी अहोरात्र खटिएको र प्रभावकारी सुरक्षा व्यवस्थापनका निम्ति सबैले स्वनियममा बस्नुपर्ने थापाको भनाइ थियो ।

पशुपतिक्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले प्रहरीसँगको सहकार्य प्रभावकारी रहेको चर्चा गरे ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडाध्यक्ष मध्ये ७ का विमलकुमार होडा, ८ का आशामान संगत र ९ की प्रतिनिधि सिर्जना भेटवाल सहभागी थिए ।

ranechhap