वि.सं.२०८३ वैशाख ३ बिहीवार

बझाङको साइपालमा दुई सातादेखि खाद्यान्न अभाव, दैनिक गुजारा चलाउनै मुस्किल

khanepani

बझाङ । बझाङको साइपाल गाउँपालिका-३ काँडा र जिमामा खाद्यान्न अभाव सुरु भएको छ। १७० घरधुरी बसोबास रहेको उक्त वडामा चामल अभाव भएपछि स्थानीयले दैनिक गुजारा चलाउनै कठिन भएको गुनासो गरेका छन्।

खाद्यान्न अभावका कारण स्थानीयहरू दुई सातादेखि मारमा परेका छन्। गाउँमा चामल नपाउँदा दैनिक जीवन कष्टकर बनेको स्थानीय प्रेम बोहराले बताए।

उनले भने, ‘घरमा भएको अन्न सकियो, बजार टाढा छ, पैसा हुनेले बजारबाट किनेर ल्याउँछन्।’

अर्का स्थानीय हर्जित बोहराले पनि समयमै चामल नपुग्दा समस्या बढेको बताए।

उनले भने, ‘सरकारले पठाएको चामल नै समयमा नआउँदा हामीले दुःख पाएका छौं। बालबालिका र वृद्धहरू बढी समस्यामा छन्।’

स्थानीय तह, वडा कार्यालय र ठेकेदारबीचको समन्वय अभावका कारण खाद्यान्न संकट चुलिएको स्थानीयको आरोप छ। समयमै आपूर्ति र निष्पक्ष वितरण हुन नसके थप समस्या हुने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

गाउँपालिकाले ठेकेदारको मनोमानी ढंगले चामल ढुवानी गर्दा समस्या उत्पन्न भएको आरोप लगाएको छ। तर ठेकेदार राजेन्द्रबहादुर धामीले भने गाउँपालिकासँगको सम्झौता अनुसारकै चामल ढुवानी गरिसकेको दाबी गरेका छन्।

उनले साइपाल गाउँपालिकाका पाँचवटै वडाका लागि २ हजार क्विन्टल चामल ढुवानी गर्ने सम्झौता भएको र सोही अनुसार आपूर्ति गरिएको बताए।

उनले भने, ‘केही महिना अघि ढुवानी गरिएको चामल वडा कार्यालयहरूले वितरण गरिसकेपछि वडा नं. ३ मा केही रकम भुक्तानी नभएकाले समस्या देखिएको हो। अहिले थप २ हजार क्विन्टल चामलको माग आएको छ। सिफारिस प्रक्रियामा ढिलाइ हुँदा आपूर्ति ढिलो भएको हो। धनगढीबाट चामल मगाइसकेका छौं, २-३ दिनभित्र पुग्छ।’

यता वडा नं.३ का अध्यक्ष गोरख बोहराले भने वडाले वितरण गरेको चामलको सबै रकम ठेकेदारलाई बुझाइसकेको दाबी गरेका छन्।

उनले भने, ‘जनसंख्या अनुसार नभएर वडा अनुसार चामल वितरण हुँदा अभाव भएको हो।’

गाउँपालिका अध्यक्ष मानबहादुर बोहराले खाद्यान्न अभावको जानकारी पाउनासाथ थप चामल ढुवानीको व्यवस्था गरिएको बताए।

उनले भने, ‘ठेकेदारलाई जिम्मा दिइसकेका छौं, केही दिनमा पुग्छ।’

ranechhap