काठमाडौं । कानुन व्यवसायीलाई सिंहदरबार प्रवेशमा गरिएको कडाइप्रति चासो राख्दै एमालेका युवा सांसद सुहाङ नेम्वाङले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
नेम्वाङ्गले कानुन व्यवसायीहरूलाई नेपाल बार काउन्सिलले जारी गरेको परिचयपत्रका आधारमा सिंहदरबार परिसरमा सहज प्रवेशको व्यवस्था मिलाउन लिखित ध्यानाकर्षण गराएका हुन् । प्रधनमन्त्रीको सचिवालयमा समेत आफूले यसबारे मौखिक जानकारी गराएको उनले बताए ।
कुनै पनि नागरिकले आफ्नो मुद्दामा प्रतिनिधित्व गर्न वा प्रशासनिक कामका लागि कानुन व्यवसायी नियुक्त गर्न पाउने संवैधानिक अधिकार रहेको पत्रमा स्मरण गराइएको छ ।
सिंहदरबारभित्र रहेका मन्त्रालय, प्रशासनिक निकाय र अदालतमा सेवाग्राहीले कानुन व्यवसायी लिएर जान पाउने कुराले न्यायमा पहुँच र प्रतिनिधित्वको अधिकार सुनिश्चित गर्ने उनले बताएका छन् ।
अदालतबाट नेपाल सरकार र विभिन्न मन्त्रालयका नाममा जारी भएका आदेश वा फैसला कार्यान्वयनका लागि कानुन व्यवसायी र मन्त्रालयबीच प्रत्यक्ष सम्पर्क र सहज पहुँच आवश्यक हुने नेम्वाङले बताएका छन् ।
त्यस्तै सिंहदरबारभित्रका विभिन्न निकाय र संसदीय दलका कार्यालयहरूले समेत कानुनी परामर्शका लागि कानुन व्यवसायी नियुक्त गर्ने प्रचलन रहेको उनले स्मरण गराएका छन् ।
सिंहदरबारमा वकिलहरुलाई परिचयपत्रका आधारमा प्रवेश सहज गराउने श्रेय सुहाङकै पिता तत्कालीन सभामुख सुवास नेम्वाङलाई जाने तत्कालीन नेपाल बारका उपाध्यक्ष टीकाराम भट्टराई बताउँछन् ।
नेम्वाङले तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई बोलाएर नेपाल बारका पदाधिकारीलाई समेत राखेर कानून व्यवसायी परिचयपत्रको आधारमा प्रवेश पाइने व्यवस्था मिलाएको भट्टराईको भनाइ छ ।
प्रशासकीय अदालतका रजिष्टार सरोजराज रेग्मीले सूचना जारी गर्दै कानून व्यवसायीको हकमा नागरिक एपको सिंहदरबार गेट पासका आधारमा प्रवेश गर्नुपर्ने बताएका छन् ।







































