वि.सं.२०८३ वैशाख ६ आइतवार

स्वास्थ्य बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा टिकाउन नीतिगत सुधार आवश्यक : ओजश्वी शेरचन

khanepani

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ओजश्वी शेरचनले स्वास्थ्य बीमा कार्यक्रमको तत्काल नीतिगत सुधार गर्न सरकारसँग माग गरेकी छन् । बजेट अभावका कारण स्वास्थ्य बीमा कार्यक्रम नै रोकिन सक्ने अवस्था आएको भन्दै उनले यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताएकी हुन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शेरचनले बीमा कार्यक्रम आफैँ आर्थिक दबाबमा पर्दा सेवाग्राहीहरू गम्भीर मर्कामा परेको बताइन् । यो समस्या तत्काल समाधान गर्न स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयबीच बलियो समन्वय हुनुपर्नेमा उनले जोड दिइन् ।

‘स्वास्थ्य बीमा ऐन २०७४ ले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्दै उपचारका क्रममा हुने आर्थिक जोखिम कम गर्ने महत्त्वपूर्ण उद्देश्य राखेको छ । तर बीमा बोर्ड स्वयंले भुक्तानी नपाएकाले यो कार्यक्रम अहिले चरम आर्थिक दबाबमा छ,’ बैठकमा बोल्दै उनले भनिन्, ‘वीर अस्पताललाई ५१ करोड, टिचिङ अस्पताललाई ४० करोड र अन्य अस्पतालहरूको गरी १६ अर्ब भन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । यसले गर्दा स्वास्थ्य संस्थाहरूलाई सेवा निरन्तरता दिन कठिनाइ भइरहेको छ ।’

यस जटिल अवस्थालाई तुरुन्त सम्बोधन गर्न स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयबिच प्रभावकारी समन्वय आवश्यक रहेको उनले औँल्याइन् । सांसद शेरचनले स्वास्थ्य बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा टिकाउन नीतिगत सुधारको आवश्यकता रहेको स्पष्ट पारिन् ।

यसका लागि छरिएर रहेका सबै बीमा योजनाहरूलाई एकीकृत गरी जोखिम पुल विस्तार गर्नुपर्ने र स्वास्थ्य बीमामा प्रोग्रेसिभ ट्याक्सको अवधारणा लागू गर्नुपर्ने उनको सुझाव छ ।

ranechhap