एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् यदि इरानले वाशिङ्टन समय अनुसार मंगलबार राति ८ बजेसम्म होर्मुज जलघाँटी खोल्न तयार नभए, अमेरिका “एकै रातमा इरानलाई तहसनहस पार्न सक्छ।”
तर यस धम्की अघि नै केही देशहरूले आफ्नो जहाजलाई उक्त महत्वपूर्ण समुद्री मार्गबाट गुज्रन दिन इरानसँग छुट्टाछुट्टै समझदारी गरेका छन्। जसको पछिल्लो उदाहरण फिलिपिन्स रहेको छ।
एशियाली देशहरू यस्तो सम्झौताप्रति विशेष चासो देखाइरहेका छन्, किन भने उनीहरूको अर्थतन्त्र खाडी क्षेत्रको इन्धनमा धेरै निर्भर छ।
फिलिपिन्स अघि भारत र पाकिस्तानले पनि इरानसँग समझदारी गरेका छन्, जसअनुसार उनीहरूको केही जहाजलाई होर्मुज जलमार्ग पार गर्न अनुमति दिइएको छ।
इरानले अमेरिकी र इजरायली हवाई आक्रमणको जवाफमा उक्त मार्गबाट जाने जहाजमाथि आक्रमण गर्ने चेतावनी दिएपछि यो समुद्री मार्ग अन्तर्राष्ट्रिय तनावको केन्द्र बनेको छ। यस जलमार्गमा जहाज आवागमन अवरुद्ध भएपछि तेलको मूल्यमा तीव्र वृद्धि भएको छ।
सामान्यतया विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही मार्गबाट गुज्रन्छ। ट्रम्पले यस अघि अमेरिकालाई खाडी क्षेत्रको तेल आवश्यक नभएको बताएका थिए र अन्य देशहरूलाई आफैं तेल लिन जाने सुझाव दिएका थिए।
चीनले पनि युद्धका क्रममा आफ्ना केही जहाजहरूले उक्त मार्ग प्रयोग गरेको पुष्टि गरेको छ। यद्यपि इरानले दिएको सुरक्षा आश्वासन कति समयसम्म टिक्ने भन्नेबारे अझै अनिश्चितता रहेको छ।
फिलिपिन्सकी विदेशमन्त्री थेरेसा लाजारोका अनुसार इरानले फिलिपिन्स झण्डा बोकेका जहाजलाई सुरक्षित र अवरोधरहित आवागमनको भरोसा दिएको छ।
फिलिपिन्सले आफ्नो करिब ९८ प्रतिशत तेल मध्यपूर्वबाट आयात गर्छ, र युद्धपछि त्यहाँ पेट्रोलको मूल्य दोब्बर भन्दा बढी बढेको छ।
पाकिस्तानका विदेशमन्त्री इशाक डारले पनि इरानले आफ्ना २० जहाजलाई पारगमन अनुमति दिएको बताएका छन्। त्यसैगरी भारतका विदेशमन्त्री एस. जयशंकरले भारतीय ट्यांकरहरूको आवागमन कूटनीतिक पहलको परिणाम भएको बताएका छन्।
अन्य देशहरू जस्तै मलेसिया,जापान र चीनका जहाजहरू पनि हालै उक्त मार्गबाट गुज्रेका छन्।
यद्यपि विज्ञहरूका अनुसार यी समझदारीहरू अस्थायी हुन सक्छन्, र क्षेत्रीय सैन्य गतिविधिले भविष्यमा स्थिति फेरि जटिल बनाउन सक्छ।









































