काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले उत्कृष्ट नजिता ल्याउन नसकेको विषयमा विश्लेषण गरेका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सोमबार बसेको कार्य संयोजन समिति बैठकमा पार्टी एकता पछिका तत्कालीन कारणहरू लिखित रूपमा पेस गरेका हुन् ।
नेकपा घोषणा गरियो तर त्यसलाई सांगठनिक रूप दिन नसकिएको, एकता घटकसँग गरिएका प्रतिबद्धता लागु नभएको, एकताका लागि अगाडि सारिएका चार आधारभूत सिद्धान्त मार्क्सवाद लेनिनवाद मार्गदर्शक सिद्धान्त, आजको समाजवादी क्रान्ति र रूपान्तरणको युग, वैज्ञानिक समाजवाद नेपाली विशेषताको समाजवादी कार्यक्रम, त्यसलाई प्राप्त गर्ने क्रान्तिकारी कार्यदिशा सही भएको तर तिनीहरूलाई लागु गर्ने कार्यदिशा तय नभएको, २०–२५ समूहलाई एकतामा ल्याइएको तर सही कार्यदिशाको आधारमा सङ्गठित गर्ने प्रयास नभएको उनले जिकिर गरेका छन् ।
खनालले बुँदागत रूपमा कमजोरी औँल्याएका छन् । नेतृत्वदायी कोर टिम नबनेको, एकीकृत अभियान समयमै सुरु नभएको, सन्देशसभाको सट्टा एकीकरण हुनुपर्थ्यो, एकतापछि तीन महिनाको समय सदुपयोग नभएको, अपानी र अपिल जारी गर्ने सहमति, समिति प्रणाली नभएको, जनसंगठनलाई एकताबद्ध गरी परिचालन नगरिएको, चुनावी अभियान कसका विरुद्ध भएको त्यसबारे प्रस्ट नभएको, युवाहरूलाई परिचालन नगरिएको, चुनावी अभियान सञ्चालन गर्न प्रभावकारी संयन्त्र नबनेको कुरा खनालले उठाएका छन् ।









































