वि.सं.२०८३ असोज ५ सोमवार

कांग्रेस संसदीय दलको नेतामा आङदेम्बेको नाममा सहमति जुटेको हो ?

khanepani

काठमाडौं । सदन सुचारु भइसक्दा पनि नेपाली कांग्रेसले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन। पार्टीभित्रको आन्तरिक विवादको कारणले कांग्रेसले दलको नेता चयन गर्न नसकेको हो।

दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन हुँदै छ। त्यसका लागि सहमहामन्त्री प्रकाश रसाइलीको संयोजकत्वमा मुना भुसाल र राजु कटुवाल रहेको निर्वाचन समिति गठन गरेको छ।

कांग्रेसको संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे र मोहन आचार्यको नाम चर्चा छ। त्यसमध्ये आङदेम्बेको सम्भावना बलियो रहेको एक नेताले बताए।

ती नेताले भने, ‘सभापति गगन दाइको आफन्तको कारणले अर्जुनदाइको नाम अघि ल्याउँदा थप विवाद हुनसक्छ। त्यसैले भीष्मको सम्भावना देखिएको छ। त्यसको सङ्केत हिजो उहाँले प्रतिनिधि सभाको बैठकमा गरेको सम्बोधनले पनि झल्काएको छ।’हिजो बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा कांग्रेसको तर्फबाट आङदेम्बेले सम्बोधन गरेका थिए। पार्टीभित्र आन्तरिक विवाद चर्किरहेको बेलामा सदनबाटै सभापति गगन थापाको पक्षमा खुले। यस अघि उनी पूर्वसभापति शेरबहादुर देउवा निकट नेता मानिन्थे। उनले बैठकमा भनेका थिए, ‘परिवर्तनको स्वर र भावनालाई आत्मसात् गरेर नेपाली कांग्रेसको विशेष महाधिवेशनले विभिन्न दृष्टिकोण पारित गरेको म यहाँ स्मरण गराउन चाहन्छु ।’

बिपी कोइरालाले नेतृत्व गरेर प्रारम्भ भएको कांग्रेस सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा हुँदै विशेष महाधिवेशनबाट गगन थापालाई सभापति बनाएर बदलिएको समय र बदलिएको समाज अनुरूपको रूपान्तरणमा प्रवेश गरिसकेको उनको भनाइ थियो।

कांग्रेसका प्रवक्ता देवराज चालिसेले पनि दलको नेता चयनको लागि पार्टीले निर्वाचन प्रक्रिया अघि बढाइसकेको बताए। उनले दलको नेताबारे भने छलफल चलिरहेको बताए।

आङदेम्बेको सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘जसको नाममा सहमति भएपनि निर्वाचन प्रक्रियाबाटै हुने हो। त्यसमा अहिले छलफल भइरहेको छ।’

ranechhap