काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले भाँडोमा पनि पेट्रोलियम पदार्थ बिक्री बितरण गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ ।
एशोसिएशनले पेट्रोलियम पदार्थको प्रयोग र प्रयोजन अनुसार निश्चित परिमाणमा भाँडोमा पनि बिक्री बितरण गर्न पाउने व्यवस्था कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा प्रष्ट निर्णय गर्न आग्रह गरेको हो ।
नेपाल आयल निगमलाई पत्र पठाउँदै एशोसिशनले पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रुपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरुबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको तर्फ निगमको ध्यानाकर्षण गराएको छ ।
पेट्रोलियम पदार्थको प्रयोग सवारी साधनमा मात्र नभई अन्य प्रयोजनको लागि पनि प्रयोग हुने भएकाले भाडामा पनि वितरण गर्न माग गरेको एशोसिएसनले जनाएको छ ।
‘पेट्रोलियम पदार्थको प्रयोग सवारी साधनमा मात्र हुँदैन, यसको प्रयोग कृषि, उद्योग, साना व्यापार तथा अन्यत्र विभिन्न क्षेत्रमा समेत हुन्छ भन्ने बिषयमा सम्बन्धित पक्ष न अनभिज्ञ बन्न मिल्छ न सबै क्षेत्रलाई नै बेवास्ता गर्न मिल्छ । त्यसैले पेट्रोलियम पदार्थको प्रयोग र प्रयोजन अनुसार निश्चित परिमाणमा भाँडोमा पनि बिक्री बितरण गर्न पाउने व्यवस्था कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा प्रष्ट निर्णय हुन अनुरोध छ ।’ एशोसिएसनले भनेको छ । निगमले पछिल्लाे समय बाेतलमा पेट्राेलियम पदार्थ विक्रीबितरण गर्न राेक लगाइएकाे छ ।









































