वि.सं.२०८३ वैशाख ८ मंगलवार

नयाँ सरकारप्रति जनताको ठुलो अपेक्षा, सम्बोधन गर्नु संसदको साझा दायित्व : अध्यक्ष दाहाल

khanepani

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले २० औँ अधिवेशनको शुभारम्भ गर्दै नयाँ सरकारप्रति आम जनताले राखेको उच्च अपेक्षालाई सम्बोधन गर्नु संसदको प्रमुख र साझा दायित्व भएको बताएका छन् । २०७४ साल फागुन २१ गतेदेखि सुरु भएको राष्ट्रिय सभाले आठ वर्षको अवधिमा १९ वटा अधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेको जानकारी दिँदै उनले यस अवधिमा सभाले एक परिपक्व, सुझबुझयुक्त र स्थायी सदनको पहिचान बनाएकोमा गर्व व्यक्त गरेका हुन् ।

अध्यक्ष दाहालले लोकतान्त्रिक व्यवस्थामा जनमत नै सर्वोपरी हुने उल्लेख गर्दै सरकारलाई सही नीति, कानुन र प्रभावकारी निगरानीका माध्यमबाट उचित दिशानिर्देश गर्नु संसदको मुख्य काम भएको बताए । उनले प्रतिनिधि सभा र राष्ट्रिय सभा बीचको घनिष्ट सहकार्य नै लोकतान्त्रिक संसदीय अभ्यासको आधारस्तम्भ भएकोमा जोड दिए ।

बानेश्वरस्थित संघीय संसद भवनमा भएको क्षति र सिंहदरबारमा निर्माणाधीन नयाँ भवन सम्पन्न भइनसकेकाले हाल चुनौतीपूर्ण परिस्थितिमा सभा सञ्चालन गर्नुपरेको उनले जानकारी दिए । अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘जेन–जी आन्दोलन र त्यसपछिको राजनीतिक अन्योलका बीच पनि राष्ट्रिय सभाले अभिभावकीय भूमिका निर्वाह गर्न सकेकोमा म गौरवान्वित छु । १९ औँ अधिवेशन छोटो भए पनि यसको महत्त्व र गरिमा निकै माथि रहेको छ ।’

उनले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुमत प्राप्त गरेको र प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको सन्दर्भ उल्लेख गर्दै नयाँ सरकारबाट जनताले सुशासन, पारदर्शिता र तीव्र विकासको ठूलो आशा राखेको बताए ।

अध्यक्ष दाहालले नवनिर्वाचित सदस्यहरूलाई सदनमा स्वागत गर्दै उनीहरूको सक्रिय र रचनात्मक सहभागिताले राष्ट्रिय सभाको गरिमा अझ बढ्ने विश्वास व्यक्त गरे । उनले दलीय वा राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय हित र जनचासोका विषयलाई प्राथमिकता दिन सबै सदस्यहरूलाई अपील समेत गरेका छन् ।

ranechhap