वि.सं.२०८३ वैशाख ६ आइतवार

छिटो नतिजा लक्ष्यसहित आजैदेखि एसईईको कपी जाँच सुरू

khanepani

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षणको काम सुरु भएको छ।

पहिलो दिन अंग्रेजी विषयको परीक्षा भएको थियो । आज बिहान परीक्षा दिएको उत्तरपुस्तिकाको परीक्षण पनि आजै सुरू गरिएको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए ।

आज बिहान ८ बजेदेखि सुरू भएको परीक्षा ११ बजे सकिएको थियो । परीक्षा भएको केन्द्रमै उत्तरपुस्तिका परीक्षण भइरहेको छ।

उनले भने, ‘जुन विद्यालयको विद्यार्थीको उत्तरपुस्तिका हो, सोही विद्यालयको शिक्षकले परीक्षण गर्न पाउँदैनन्।’

केन्द्रमा शिक्षा विकास इकाइबाट खटिएका शिक्षकहरूको सूची केन्द्राध्यक्षलाई उपलब्ध गराइन्छ । सूची अनुसार, केन्द्राध्यक्षको नेतृत्वमा परीक्षणको काम अगाडि बढाइन्छ। आफ्नो विद्यालयको शिक्षकले आफ्नो विद्यार्थीको उत्तरपुस्तिका परीक्षण नदिई, केन्द्राध्यक्षले अर्को विद्यालयको शिक्षकलाई परीक्षणका लागि दिने व्यवस्था मिलाइएको उनले बताए ।

यसैगरी अन्य विषयका उत्तरपुस्तिकाहरू पनि क्रमशः परीक्षण हुनेछन् । परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी रहेको अधिकारीले बताए ।

ranechhap