काठमाडौँ । पूर्वमाओवादी पृष्ठभूमिका रामबहादुर थापा बादल नेकपा एमाले संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भए । बुधवार केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले बादललाई निर्विरोध निर्वाचित गर्यो । उमेरले ७० वर्ष लागेका बादललाई ३६ वर्षका युवा नेता सुहाङ नेम्वाङले चुनौती दिएका थिए ।
बदललाई सर्वसम्म नेता बनाउने प्रयास असफल भएपछि निर्वाचन प्रक्रियाबाट टुंगो लगाउने गृहकार्यमा निर्वाचन समिति जुट्यो । तर उपाध्यक्ष बादल, विष्णुप्रसाद पौडेल, महासचिव शंखर पोखरेल लगायत नेताहरूले सम्झाएपछि सुहाङले उम्मेदवारी फिर्ता लिएको थिए । बाहिर चर्चा भएजस्तो सुहाङले प्रस्तावक र समर्थन नै नपाएको विषय गलत भएको सांसद ऐन महरले बताए ।
‘संसदीय दलको नेतामा सुहाङजीले पनि दाबी गर्नुभएको थियो । सर्वसम्मत नेता चयनबारे छलफल भयो । पछि उहाँले नै फिर्ता लिएपछि रामबहादुर थापा सर्वसम्मत नेता बन्नुभएको हो । बाहिर चर्चा भएको जस्तो केही भएको होइन’, रातोपाटीसँग उनले भने ।
पार्टी सचिव पद्मा अर्यालले पनि बादल निर्विरोध निर्वाचित भएको बताइन् । उनले भनिन्–सहमतिमै दलको नेता चयन भएको हो । त्यस्तो केही भएको होइन ।’
बादल पूर्वमाओवादी र एमालेमा पटक पटक अवसर पाएको नेता हुन् । सुहाङ दिवंगत पूर्वसभामुख सुवासचन्द्र नेम्बाङका छोरा हुन् । २०८० साल भदौमा बुवाको निधन भएपछि उनी राजनीतिमा आएका हुन् । मंसिरमा भएको उपनिर्वाचनमा सुहाङ इलाम–२ बाट निर्वाचित भएका थिए । तर गएको भदौमा जेनजी आन्दोलनका कारण संसद् विघटन भयो । पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली सहित प्रत्यक्षमा उठेका पदाधिकारी पराजित हुँदा उनले बुवाकै निर्वाचन क्षेत्रबाट शानदार विजयी भए । सुहाङ पार्टीभित्र मात्र नभई आम युवामाझ निकै लोकप्रिय युवा नेता मानिन्छन् । दलको नेताबाट उम्मेदवारी फिर्ता लिएका उनले राजनीतिक संस्कार देखाउँदै बुवा उमेरका नेता बादललाई दोसल्ला ओढाएर बधाई दिएका छन् । भर्खर सम्पन्न निर्वाचनमा एमालेले जम्मा २५ सिट जितेको थियो ।









































