वि.सं.२०८३ वैशाख ६ आइतवार

नेपाली कांग्रेस विवादको ‘साइड इफेक्ट’- सक्रिय राजनीतिबाट प्रदेश महामन्त्रीले लिए विश्राम

khanepani

कैलाली । नेपाली कांग्रेस केन्द्रको विवाद उत्कर्षमा पुगेसँगै त्यसको प्रभाव प्रदेश र जिल्लामा पनि देखिन थालेको छ। यसपटक कैलाली-५ मा कांग्रेसबाट निर्वाचन लडेर पराजित भएका प्रदेश महामन्त्री नरनारायण शाह ‘मनु’ ले सक्रिय राजनीतिबाट विदा लिने घोषणा गरेका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीभित्र चुलिएको विवादकाबीच अब उपरान्त पार्टीका औपचारिक तथा अनौपचारिक कार्यक्रमहरूमा सहभागी नहुने जनाएका हुन्।

पार्टीमा देखिएको पछिल्लो किचलोप्रति असन्तुष्टि जनाउँदै उनले कुनै पनि कार्यक्रमहरूमा सहभागिता नजनाउने निर्णय सार्वजनिक गरेका हुन्।

महामन्त्री शाहले लेखेका छन्, ‘मलाई मुलुकको वर्तमान राजनीतिमा हाम्रो पार्टीका जिम्मेवार नेतृत्वकर्ताहरूले खेलिरहेको आवश्यक अथवा अनावश्यक भूमिकाप्रति पूर्णतः असन्तुष्टि रहेको छ। यो संवेदनशील, जटिल र चुनौतीपूर्ण परिस्थितिमा सिंगो नेपाली कांग्रेस एक जुटताका साथ एकमुष्ट भएर नउभिएसम्म मैले नितान्त भारी मनले विचार गरेर अब उपरान्त पार्टीका कुनै पनि औपचारिक वा अनौपचारिक कार्यक्रमहरूमा स्वयं सहभागी नहुने निर्णय लिन विवश भएको छु।’

उनले आगामी दिनमा आफू सम्भवतः दलगत राजनीतिभन्दा टाढा रहने संकेत समेत गरेका छन्।

‘जसकसैलाई जस्तोसुकै लागे पनि अब उपरान्त म विशुद्ध नेपाली काङ्ग्रेस भएर मात्र बाँच्न चाहन्छु र यस विषयलाई कसैले पनि अन्यथा नलिइदिनु होला भन्ने सादर अनुरोध गर्दछु। मैले सदैव मनको संयमता, धैर्यता र विचलनतासँग हाँसीखेली आइरहेको व्यक्तिलाई निर्वाचनले खासै हतोत्साहित बनाएको छैन,’ उनले उल्लेख गरेका छन्।

शाह यस अघि नेपाली कांग्रेस कैलालीका दुई कार्यकाल सभापति रहिसकेका छन्। उनका बुवा स्व. मोहनबहादुर शाह (पूर्व जिविस सभापति) ले पनि कैलाली काङ्ग्रेसको नेतृत्व गरेका थिए।

त्यसैगरी, उनका हजुरबुवा स्व। लोकेन्द्रबहादुर शाह पनि कैलाली कांग्रेसका सभापति हुनुका साथै २०१५ सालमा सम्पन्न पहिलो आमनिर्वाचनमा सांसद निर्वाचित भएका थिए।

ranechhap