काठमाडौं । जेठ ६ गते नेकपा एमाले विभाजनलाई पूर्ण विराम लगाउने वा माधव नेपालको राजनितिक भविष्यको रेखा निर्धाण गर्ने दिन हो । नेकपा एमालेको वार्ता टोलीको बैठक अन्तिम समयमा आएर स्थगित कारण पनि जेठ ६ गते कै पेरिफेरी भित्रै छ । साँझ ७ बजे सिंहदरवारमा बस्ने भनिएको बैठक आन्तरिक तयारीका लागि भन्दै स्थगित गरेर भोलिको प्रतिक्षा गरिएको छ।
अरु महत्वपूर्ण छलफल अघि बढाउने प्रक्रिया चलिरहेकाले आजको वार्ता भोलिसम्मका लागि स्थगित भएको एमाले प्रवक्ता तथा वार्ता टोली सदस्य प्रदिप ज्ञवालीले बताए ।
स्रोतका अनुसार अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच वार्ता गराउने र बादलको पक्षमा माधव नेपालले वक्तव्य जारी गर्ने प्रयास पनि दिनभरी भइरहेको थियो ।
हिजो बसेको बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय गरेको थियो ।
पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एक-आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पंक्तिलाई आव्हान गर्ने निर्णय पनि कार्यदलले गरेको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको ‘वान टू वान’ वार्तापछि आइतबार १० सदस्यीय कार्यदल बनेको थियो ।








































