काठमाडौं । बेलायतको उत्तर लन्डनमा यहूदी समुदायसँग सम्बन्धित चार वटा एम्बुलेन्समा शंकास्पद ढंगले आगजनी गरिएको घटनाले तनाव बढाएको छ ।
बीबीसीका अनुसार उक्त घटना एक यहूदी परोपकारी संस्थाले सञ्चालन गर्दै आएका एम्बुलेन्सहरूमा लक्षित भएको बताइएको छ । आगजनीबाट सवारी साधनमा क्षति पुगेको भए पनि मानव क्षतिको विवरण सार्वजनिक भएको छैन।
बेलायती प्रधानमन्त्री कीर स्टार्मरले घटनाको कडा शब्दमा निन्दा गर्दै यसलाई “होरिफिक” (डरलाग्दो) भनेका छन्। उनले समुदायविरुद्ध लक्षित यस्ता आक्रमण अस्वीकार्य रहेको बताएका छन्।
प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक रूपमा यो यहुदी समुदायप्रति घृणाजन्य अपराध हुन सक्ने आशंका गरिएको छ।
हाल घटनामा संलग्नको पहिचान र उद्देश्यबारे थप अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ। बेलायतले इजरायललाई समर्थन गरेकोमा त्यहाँ रहेका प्यालेस्टाइनीलगायत इस्लाम समुदायले चिन्ता व्यक्त गर्दै आएका छन्। इजरायल संसारकै एकमात्र यहुदी राज्य हो र उसले प्यालेस्टाइन गाजा लगायत ठाउँमा आम नरसंहार गरेको आरोप छ ।








































