काठमाडौँ । शिशुले खाने ‘फर्मुला मिल्क’ मा समेत चरम ठगी भइरहेको पाइएको छ ।
‘न्युट्रिसिया’ ब्रान्डको दुधमा उत्पादकले तोकेको वास्तविक मूल्यलाई छोपेर बढी मूल्यको नयाँ स्टिकर टाँसी उपभोक्ताबाट महँगो मूल्य लिएको पाइएको हो ।
एक उपभोक्ताले आफ्नो शिशुका लागि फर्मूला दूध खरिद गर्ने क्रममा उक्त दूधको बट्टामा उल्लेख गरिएको मूल्यमाथि अर्को मूल्यसहितको स्टिकर टाँसिएको भेटिएको छ । विगत दुई महिनादेखि नियमित खरिद गर्दै आएका ती उपभोक्ताले आफ्नो नाम नबताउने सर्तमा न्युट्रिसिया ब्रान्डको दुधमा रिलेबलिङ भएको जानकारी दिए ।
उनले भने, ‘हालसम्म २०–२५ बट्टा दुध किनिसकेको छु । तर, बट्टाको मुनि टाँसिएको रातो रङको स्टिकरमा मूल्य लेखिएको थियो, शंका लागेर उक्काएर हेर्दा उत्पादकले छापेको वास्तविक मूल्यभन्दा बढी मूल्य उल्लेख गरिएको रहेछ ।’
बट्टाको पिँधमा १ हजार ४ सय ९५ रुपैयाँको नयाँ स्टिकर टाँसिएको छ । तर उक्त स्टिकरमुनि प्रिन्ट गरिएको वास्तविक मूल्य भने १ हजार ४ सय १५ रुपैयाँ मात्र रहेको ती उपभोक्ताले बताए ।
यस विषयमा ती उपभोक्ताले सम्बन्धित पसलमा प्रश्न गर्दा पसलेले आपूर्तिकर्ताबाटै यसरी नै आउने गरेको जवाफ दिएको बताए ।
उपभोक्ता संरक्षण ऐन अनुसार कुनै पनि वस्तुमा उल्लेखित अधिकतम खुद्रा मूल्यभन्दा बढी लिनु वा स्टिकर टाँसेर मूल्य केरमेट गर्नु दण्डनीय अपराध हो । शिशुले खाने संवेदनशील खाद्यान्नमा यसरी मूल्य बढाएर बेच्नु नैतिक र कानुनी दुवै दृष्टिले गलत छ ।
यस घटनालाई लिएर उपभोक्ताले वाणिज्य विभाग उजुरी दिइसकेका छन् । यस सन्दर्भमा वाणिज्य विभागले अनुगमन गर्ने र आवश्यक परे कारबाही अघि बढाउने जनाएको छ ।









































