कैलाली । सुदूरपश्चिम प्रदेश बाल अधिकारका लागि संसदीय मञ्चले पछिल्लो समय देशका विभिन्न स्थानमा बालबालिका तथा किशोरीहरूमाथि बढ्दै गएका यौन हिंसा, बलात्कार, हत्या तथा शोषणका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
मञ्चकी संयोजक तथा प्रदेशसभा सदस्य ललिता सुनारले आन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सार्कीलाई ध्यानाकर्षण पत्र बुझाउँदै अपराध नियन्त्रणमा सरकार गम्भीर बन्न आग्रह गरेकी छन् ।
ध्यानाकर्षण पत्रमा यस्ता घटनाले समाजमा त्रास फैलिएको र बालबालिका तथा किशोरीहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गरिएको छ ।
पत्रमा हालै सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरी इनिशा विकमाथि सामूहिक बलात्कारपछि भएको हत्या, कञ्चनपुरकी १२ वर्षीया बालिका निर्मला पन्तमाथि भएको बलात्कार तथा दैलेखमा एक बालिका आफ्नै आफन्तबाट बलात्कृत भई गर्भवती भएको घटनाजस्ता जघन्य अपराधप्रति गम्भीर आपत्ति जनाइएको छ ।
मञ्चले यस्ता घटनाहरूले नेपालको संविधानले सुनिश्चित गरेको बाल अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि–महासन्धीहरूको मर्ममाथि चुनौती खडा गरेको उल्लेख गरेको छ । साथै, पछिल्लो समय बालिका तथा किशोरीहरूमाथि हुने यौन हिंसा, शारीरिक शोषण र अनलाइन दुर्व्यवहारका घटनाहरू बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरिएको छ ।
मञ्चले घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न, पीडित तथा परिवारलाई कानुनी सहयोग उपलब्ध गराउन तथा उचित क्षतिपूर्ति दिन सरकारसँग जोडदार माग गरेको छ ।
ध्यानाकर्षण कार्यक्रममा प्रदेश सांसदहरू अक्कल बहादुर रावल, इन्दिरा गिरी, खेमा देवी विष्ट, जानकी कुँवर, टीका थापा, मधु भारती, लक्ष्मी बि.क. तथा शिव सिंह ओलीको सहभागिता रहेको थियो ।










































