वि.सं.२०८३ वैशाख २० आइतवार

राजेश हमाललाई ल्याएर फिल्म बनाउने भन्दै भ्रष्टाचार सेटिङ, पालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा दायर

khanepani

काठमाडौं । अछामको ढकारी गाउँपालिकामा चलचित्र निर्माणका नाममा बजेट दुरुपयोग गरेको गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

गाउँपालिकाले राजेश हमालको निर्देशनमा ‘अन्धपथ’ नामक चलचित्र बनाउने भनी एक नियमविपरीत १५ लाख सम्झौता गरिएको अख्तियारले जनाएको छ । पछि पौने १३ लाख भुक्तानी दिइयो । अख्तियारले पालिका अध्यक्ष प्रकाशबहादुर साउद, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण शाह र लेखापाल विमल साउदविरुद्ध मुद्दा दायर गरेको हो ।

चलचित्र निर्माणको जिम्मा पाएको आरजे ट्वान्टी फोर न्यूज एवं नव इन्द्रेणी फाउण्डेशन काठमाडौंका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल) लाई पनि प्रतिवादी बनाइएको छ ।

चारैजना प्रतिवादीबाट जनही १२ लाख ७७ हजार २५० रूपैयाँ बिगो मागदाबी गरिएको छ ।

२० प्रतिशत मात्र पेस्की दिन मिल्ने कानुनी व्यवस्थाविपरीत गाउँपालिकाले ५८ प्रतिशतसम्म पेस्की दिएको, चलचित्र निर्माणका लागि घर भाडा र अरु खर्चका नाममा नक्कली र झुट्टा बिल पेस गरी भुक्तानी लिइएको अभियोग पत्रमा उल्लेख छ ।

हिउँदे अधिवेशनबाट कार्यक्रम संशोधन र रकमान्तर गरी सेटिङमा हिनामिना गरेको बताइएको छ ।

ranechhap