काठमाडौँ । हिमाल, संस्कृति र साहसिक यात्राको अद्वितीय सङ्गमका रूपमा चिनिने नेपालले अन्तर्राष्ट्रिय पर्यटन बजारमा आफ्नो उपस्थिति थप सुदृढ बनाइरहेको छ ।
जस अन्तर्गत नेपाल पर्यटन बोर्डले रूसको राजधानी मस्कोमा आयोजित प्रतिष्ठित पर्यटन मेला मस्को इन्टरनेश्नल ट्राभल एण्ड टुरिजम् एक्जिविशन (एमआईटीटी) २०२६ नेपालको विविध पर्यटन सम्भावनालाई विश्वसामु प्रस्तुत गरेको छ ।
मस्कोस्थित क्रोकस एक्स्पो सेन्टरमा मार्च ११ देखि १३ सम्म ३२ औँ संस्करणका रूपमा आयोजित एमआईटीटी–२०२६ मा ३० भन्दा बढी देशका पर्यटन गन्तव्य, सेवा प्रदायक र पर्यटन व्यवसायी सहभागी भएका थिए ।
तीन दिनसम्म सञ्चालन भएको मेलामा करिब १६ हजारभन्दा बढी आगन्तुकहरूले अवलोकन गरेको अनुमान गरिएको जनाइएको छ । यस प्रदर्शनीमा नेपाल पर्यटन बोर्डले निजी क्षेत्रसँग सहकार्य गर्दै नेपालको पर्यटन अनुभवलाई समग्र रूपमा प्रस्तुत गरेको बोर्डका वरिष्ठ अधिकृत कविन्द्र भट्टले जानकारी दिएका छन् । उनका अनुसार सात निजी क्षेत्रका ट्राभल तथा टुर कम्पनीहरूसहित सहभागी भएको बोर्ड नेतृत्वको टोलीले हिमालयन साहसिक पर्यटन, पदयात्रा, पर्वतारोहण, बौद्ध तथा हिन्दू धार्मिक पर्यटन, प्रकृति–आधारित अनुभव र सांस्कृतिक विविधतालाई प्रस्तुत गरेको छ ।
प्रदर्शनीमा राखिएको नेपाल पभेलियनमा नेपालबारे जानकारी लिन आउने आगन्तुकहरूलाई हिमालयको अनुपम सौन्दर्य, लुम्बिनीको आध्यात्मिक शान्ति, साहसिक पदयात्रा मार्गहरू तथा नेपाली संस्कृतिको विविधताबारे विस्तृत जानकारी दिइएको थियो । नेपालको प्रतिनिधिमण्डलको नेतृत्व नेपाल पर्यटन बोर्डका कार्यसमिति सदस्य तथा अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले गरेका थिए । प्रतिनिधिमण्डलमा बोर्डका वरिष्ठ निर्देशक सन्तोष पन्त र वरिष्ठ अधिकृत भट्ट सहभागी थिए ।
मेलाको अवसरमा रुसी तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरूसँग छलफल तथा अन्तरक्रियाका क्रममा प्रतिनिधिमण्डलले नेपाललाई सुरक्षित, विविधतायुक्त र अविस्मरणीय पर्यटन गन्तव्यका रूपमा प्रस्तुत गरेको थियो । प्रतिनिधिमण्डलका प्रमुख तिवारीले एमआईटीटी जस्ता अन्तर्राष्ट्रिय पर्यटन मेलाहरू नेपालको पर्यटन प्रवर्द्धनका लागि अत्यन्त महत्त्वपूर्ण भएको बताए । उनले भने, ‘रूसजस्तो ठुलो पर्यटन बजारमा नेपालका सम्भावनाहरू प्रस्तुत गर्ने अवसर एमआईटीटी जस्तो मञ्चले प्रदान गर्छ । रुसी पर्यटकहरू साहसिक यात्रा, हिमाली पदयात्रा र सांस्कृतिक अनुभवप्रति निकै आकर्षित हुन्छन्, जसले नेपालका लागि ठुलो सम्भावना देखाउँछ ।’
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक पन्तले रुसी बजारलाई नेपालको उदीयमान पर्यटन बजारका रूपमा उल्लेख गर्दै भने, ‘नेपाल प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा र आध्यात्मिक अनुभवले भरिएको गन्तव्य हो । रुसी पर्यटकहरू नयाँ र अनौठो गन्तव्यको खोजीमा रहने भएकाले नेपालको पर्यटन अनुभव उनीहरूका लागि अत्यन्त आकर्षक हुन सक्छ ।’
यस प्रदर्शनीमा निजी क्षेत्रका पर्यटन व्यवसायीहरूले एमआईटीटी–२०२६ रुसी बजारसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने प्रभावकारी अवसर बनेको प्रतिक्रिया दिएका छन्। यसैबिच रूसस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत महेश्वरमणी त्रिपाठीले नेपाली पभेलियनको अवलोकन गर्दै कार्यक्रमलाई सफल बनाउन सहजीकरण गर्नुका साथै नेपाल र रुसबिचको पर्यटन सहकार्यलाई अझ विस्तार गर्न यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरू महत्त्वपूर्ण हुने बताए ।
यस वर्ष नेपाल र रुसबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुँदैछ । यही ऐतिहासिक सन्दर्भमा एमआईटीटी–२०२६ नेपालको सहभागिताले दुई देशबिच पर्यटन सहकार्यलाई अझ मजबुत बनाउने बोर्डका वरिष्ठ अधिकृतले बताएका छन् ।
उनले थपे,’मस्कोमा सम्पन्न एमआईटीटी–२०२६ नेपालको सहभागिताले रुसी पर्यटन बजारमा नेपालको उपस्थितिलाई अझ मजबुत बनाउने विश्वास हामीले लिएका छौँ । आगामी दिनमा पनि यस्ता अन्तर्राष्ट्रिय मञ्चमार्फत नेपालको पर्यटन सम्भावनालाई विश्वभर प्रवर्द्धन गर्दै लैजाने बोर्डको रणनीति, योजना र कार्यक्रमहरू रहेका छन् ।’ पर्यटन तथ्याङ्क अनुसार सन् २०२५ मा नेपाल भ्रमण गर्ने रुसी पर्यटकको सङ्ख्या १५ हजार भन्दा बढी पुगेको थियो ।









































