एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नेतृत्व र सैन्य शक्तिमाथि कडा टिप्पणी गर्दै आफूले इरानको “आतङ्ककारी शासन” लाई पूर्ण रूपमा ध्वस्त पारिरहेको दाबी गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै अमेरिका इरानलाई सैन्य, आर्थिक तथा अन्य सबै तरिकाबाट कमजोर बनाइरहेको बताएका छन्।
उनले लेखेका छन्, “हामी इरानलाई सैन्य, आर्थिक र अन्य सबै तरिकाले तबाह गरिरहेका छौं।”
ट्रम्पका अनुसार इरानको नौसेना लगभग समाप्त भइसकेको छ भने वायुसेनाको पनि कुनै प्रभावकारी अस्तित्व बाँकी नरहेको दाबी गरेका छन्।
साथै उनले इरानका मिसाइल, ड्रोन तथा अन्य सैन्य क्षमताहरू क्रमशः नष्ट गरिँदै गएको बताएका छन्।
उनले दाबी गर्दै भने, “इरानका नेताहरूलाई पृथ्वीको नक्साबाट हटाइयो।”
ट्रम्पले अमेरिकासँग अत्यन्त शक्तिशाली सैन्य क्षमता रहेको उल्लेख गर्दै भनेका छन्, “हाम्रो फायरपावर बेजोड छ, गोला–बारुद असीमित छ र हाम्रोसँग पर्याप्त समय पनि छ।”
उनले इरानमाथि विगत ४७ वर्षदेखि विश्वभर निर्दोष मानिसहरूलाई मार्ने आरोप लगाउँदै आफू अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा त्यस्तो गतिविधि अन्त्य गरिरहेको बताएका छन्।
“पछिल्ला ४७ वर्षदेखि उनीहरूले संसार भर निर्दोष मानिसहरूको हत्या गर्दै आएका छन्। अब अमेरिकाका ४७औँ राष्ट्रपतिका रूपमा म उनीहरूलाई समाप्त गर्दैछु। यो मेरो लागि ठूलो सम्मानको कुरा हो,” ट्रम्पले लेखेका छन्।








































