काठमाडौं । प्रतिनिधिसभा सदस्य आशिका तामाङले सुर्खेतकी १६ वर्षीया किशोरी इनिशा विकको बलात्कारपछि हत्या गर्ने अपराधीहरुलाई फाँसीको सजाय माग गरेकी छन् । संजालमा धरधरी रुँदै बोलेको एक भिडियो सार्वजनिक गर्दै उनले बलात्कारीलाई फाँसीको सजाय नभएसम्म यस्ता घटना नरोकिने बताएकी छन् ।
आफूलाई निर्वाचित गरेका धादिङ-१ का जनतालाई धन्यवाद दिन गाउँ गाउँमा पुगेको भए पनि अबिर र फूलमाला लगाएर बधाइ थाप्न नसकेको बताएकी छन् ।
उनले रुँदै भनेकी छन्, ‘इनिशा बिकलाई नरपिचासहरुले बलात्कार गरेर जंगलमा फाले । ती नरपिचासहरुलाई फाँसीको सजाय हुनुुपर्छ ।’
आशिकाले थप भनेकी छन्, ‘मलाई यहाँ जनताले फूलमाला र अबिर लगाइदिनुहुन्छ, तर मैले आज लाएको छैन । मलाई सम्झँदाखेरि मात्र यति गाह्रो फिल भइरहेको छ, त्यो बहिनीलाई…..कति गाह्रो भएको थियो होला ! उनी जंगलमा कति चिच्याइन् होलिन् । सहयोगकको लागि कति अपिल गरिन् होलिन् । तर कोही पनि उनको सहयोगका लागि आउन सकेनन् ।’
देशमा रास्वपाले जितेर उत्सव भइरहेको बेला एउटी नारीले हारेर गएको भन्दै इनिशाको न्यायका लागि अब बन्ने सरकार समक्षमा कडा कारबाहीको माग राख्ने बताएकी छन् । गत फागुन २३ गते घरबाट ट्युसन पढ्न गएकी गुर्भाकोट नगरपालिका-६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर-१ मा बस्दै आएकी इनिशा सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् ।
शरीरभरि निलडाम र रगताम्य अवस्थामा फेला परेकी उनलाई अस्पताल पुर्याउने बित्तिकै मृत घोषणा गरेका थिए । प्रहरीले उनको बलात्कारपछि हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।









































