वि.सं.२०८३ वैशाख ३ बिहीवार

कोशी प्रदेशमा राजनीतिक उथलपुथल, नेकपा एमाले चौथो,नेपाली कांग्रेस तेस्रो

khanepani

विराटनगर । २०८२ सालको प्रतिनिधि सभा निर्वाचनअन्तर्गत कोशी प्रदेशको समानुपातिकतर्फको मत परिणामले परम्परागत राजनीतिक दललाई ठुलो धक्का दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टीको जबर्जस्त उदय देखाएको छ ।

अन्तिम तथ्याङ्क अनुसार कोशी प्रदेशमा अघिल्लो निर्वाचनका प्रमुख शक्तिहरू नेकपा एमाले र नेपाली कांग्रेस यस पटक नराम्ररी पछारिएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक मतसहित पहिलो स्थान ओगटेको छ । त्यसैगरी, भर्खरै उदाएको श्रम संस्कृति पार्टीले समेत पुराना दलहरूलाई उछिनेर दोस्रो स्थान हासिल गरेको छ ।

मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ८ लाख ५३ हजार १८३ मत पाउँदा श्रम संस्कृति पार्टीले २ लाख ९२ हजार ४९ मत पाएको छ । नेपाली कांग्रेस २ लाख ९० हजार ५६२ मतसहित तेस्रो बन्दा नेकपा एमाले २ लाख ८८ हजार १८६ मतसहित चौथो शक्ति बनेको छ ।

अघिल्लो निर्वाचनमा पाँचौँ स्थानमै रहेको नेपाली कम्युनिष्ट पार्टी यस पटक पनि पाँचौँ नै बनेको छ । नेपाली कम्युनिष्ट पार्टीले यसपटक ९७ हजार ६७९ मत पाएको छ भने यसअघि चौथो शक्तिको रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने ६२ हजार ८२९ मतसहित छैटौँ बनेको छ ।

२०७९ सालको निर्वाचनमा तत्कालीन प्रदेश नं. १ (हाल कोशी) मा नेकपा एमाले ६ लाख ६५ हजार ४६० समानुपातिक मत ल्याएर पहिलो शक्ति बनेको थियो । तर २०८२ को यस निर्वाचनमा एमालेको मत खुम्चिएर २ लाख ८८ हजार १८६ मा सीमित भएको छ । जसका कारण एमाले पहिलो स्थानबाट सिधै चौथो स्थानमा झरेको हो ।

त्यस्तै, २०७९ मा ५ लाख ६२ हजार ९५६ मतसहित दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस यसपटक २ लाख ९० हजार ५६२ मतमात्र प्राप्त गर्दै तेस्रो स्थानमा खुम्चिन पुगेको छ । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसपटक भने आफ्नो जनमतमा अभूतपूर्व वृद्धि गर्दै ८ लाख ५३ हजार १८३ मतका साथ एकछत्र राज गरेको छ ।

अघिल्लो निर्वाचनमा १ लाख ९८ हजार ५११ मतसहित बलियो चौथो शक्ति रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवस्था पनि यसपटक खस्किएको छ । राप्रपा जम्मा ६२ हजार ८२९ मतसहित छैटौँ स्थानमा पुगेको छ । त्यस्तै, अघिल्लो पटक पाँचौँ शक्ति रहेको माओवादी÷एकीकृत समाजवादी लगायतका परम्परागत कम्युनिष्ट घटकहरूको स्थान पाँचौँ स्थानमै रहे पनि झन्डै डेढ लाख मत घटेको छ ।

यस निर्वाचनमा श्रम संस्कृति पार्टीको उदय सबैको लागि चासोको विषय बनेको छ । कसैले अनुमान नगरेको यो नयाँ दलले पहिलो प्रयासमै २ लाख ९२ हजार ४९ मत प्राप्त गरी कांग्रेस र एमाले जस्ता पुराना र स्थापित दललाई पछि पार्दै प्रदेशकै दोस्रो ठुलो दल बन्न सफल भएको छ ।

ranechhap