विराटनगर । नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेज (केएमसी) का सञ्चालकसमेत रहेका कांग्रेस नेता डा. सुनिल शर्माले चुनावको नतिजा जे जस्तो आए पनि नागरिकको सेवा र निःशुल्क उपचारको कार्य निरन्तर रहेको बताएका छन् ।
मोरङ- ३ मा पराजित भएसँगै अस्पतालले दिँदै आएको नि:शुल्क सेवा शर्माले हटाएको सामाजिक सञ्जालमा हल्ला फैलाएपछि उनले प्रष्टीकरण दिएका छन् ।
शर्माले भनेका छन्, ‘चुनावमा हार वा जित हुनु र सामाजिक सेवा तथा सत्कर्मबीच कुनै सम्बन्ध हुँदैन, न त कहिल्यै थियो । समाज र राष्ट्रप्रतिको हाम्रो दायित्वलाई आत्मसात् गर्दै आगामी दिनमा पनि यस्ता सेवा र सहयोगका कार्यहरू देशभर निरन्तर जारी रहन्छ । शर्माले नोबेल र केएमसीमार्फत मोरङ क्षेत्र नम्बर ३ का आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई प्राथमिकतामा राखेर छुटदेखि निःशुल्क उपचारसम्मको सेवा प्रदान गरिँदै आएको छ ।’
उनले थपे, ‘नागरिकको आवश्यकता र आर्थिक अवस्थालाई ध्यानमा राखी सेवा पुर्याउने हाम्रो प्रयास सधैँ निरन्तर रहँदै आएको छ र रहनेछ ।’









































