काठमाडौं । जेनजी आन्दोलनका घाइते राजेश प्रतेल संस्थापक रहेको राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ३४ हजार भन्दा माथि समानुपातिक मत ल्याइसकेको छ । गणना जारी रहेकाले बाँसुरी चुनाव चिह्न रहेको यस पार्टीको मत अझै बढ्ने देखिन्छ । तर, राष्ट्रिय पार्टी हुनलाई चाहिने ३ प्रतिशत थ्रेसहोल्ड कट्ने सम्भावना भने न्यून देखिन्छ ।
स्वयं राजेश प्रतेल पनि थ्रेसहोल्ड कट्ने कुरामा त्यति आत्मविश्वासी देखिँदैनन् । प्रतेलले नेपाल प्रेससँग भने, ‘प्रत्यक्षमा जति कल्पना गरेका थियौँ, त्यो हिसाबले मत आएन । समानुपातिकमा भने राम्रो मत आयो । तैपनि थ्रेसहोल्ड त नकट्ला ।’
निर्वाचन आयोगका अनुसार समानुपातिकमा एक करोड नौ लाख हाराहारी मत खसेको छ । अहिलेसम्म ८९ लाखभन्दा बढी मत गनिसकेकाले थ्रेसहोल्ड कट्न गाह्रो हुने प्रतेलले बताए । यस पार्टीले प्रत्यक्षमै १०-१२ ठाउँमा उम्मेदवार उठाएको थियो । पछि कुलमान घिसिङको उज्यालो नेपालसँग एकता भएपछि प्रत्यक्षमा ११२ उम्मेदवार पुगेको थियो ।
तर, प्रत्यक्षमा अपेक्षित नतिजा आएन । बरु समानुपातिकमा आफूहरूले मतदाताको प्रेम र शुभेच्छा पाएको प्रतेलले बताए । प्रतेल स्वयं पनि समानुपातिक उम्मेदवार छन् । उनी जेनजी आन्दोलनका घाइते पनि हुन् । झापाको बिर्तामोडमा विस्फोटक पदार्थ विस्फोट हुँदा उनको एउटा खुट्टा नै चुँडियो । उनी अहिले हिँडडुल गर्न र सामान्य जीवनयापनका लागि सहज हुने खुट्टा सरकारले लगाइदिने अपेक्षामा छन् ।
यस निर्वाचनमा प्रतेल जस्ता जेनजी आन्दोलनका घाइतेहरू पार्टी नै खोलेर चुनावी मैदानमा होमिए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा जनलहर देखियो । यसलाई सकारात्मक रूपमै लिन्छन् प्रतेल । उनका अनुसार जेनजी आन्दोलनको माग बालेन शाह र रास्वपाले पुरा गर्छ भन्ने विश्वास जनतामा देखिएको हो । प्रतेलले भने, ‘किनभने उम्मेदवारी नै खारेज भएको ठाउँमा पनि जनताले मत दिनुभएको छ ।’
अब गठन हुने रास्वपा सरकारले मुख्य रूपमा जेनजीहरुको मागलाई सम्बोधन गर्नुपर्ने प्रतेलले बताए । उनले भने, ‘अहिले धेरै घाइतेहरूले बालेनजीलाई समर्थन गरिरहनुभएको छ । अब बन्ने सरकार जेनजी आन्दोलनकै जगमा बन्ने हो । र यो सरकारले सबैभन्दा पहिले शहीद परिवारको मागलाई सम्बोधन गर्नुपर्छ । आफूहरूले पाउनुपर्ने पैसा एकमुष्ट रूपमा नपाएको भनेर हामीसँग गुनासो गरिरहनु भएको छ ।’
‘हामी घाइतेहरूको धेरै समस्या छन् र अहिलेको अन्तरिम सरकार चुनावमा केन्द्रित भएको कारण हामीबारे ठोस निर्णय लिन सकेको छैन । मेरो खुट्टा छैन । त्यहाँ कृतिम खुट्टा हाल्नुपर्ने छ । हातखुट्टा नभएका हामी तीनचार जना छौँ । अरू गोली लागेका भाइहरू पनि छन्,’ प्रतेलले भने, ‘अब बन्ने सरकारले हामीलाई उपचारसँगै हाम्रो क्षमता अनुसारको जागिर मिलाइदिनु भयो भने गज्जब हुने थियो । अनि यो सरकारले जेनजी आन्दोलनमा घुसपैठ के कारणले भएको थियो, त्यसमा संलग्नलाई कारबाही पनि गर्नुपर्छ ।’







































