काठमाडौँ । नेपाली कांग्रेसका नेता एवंम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन् ।
पूर्वअर्थमन्त्री महतले न्यूज एजेन्सीसँग कुरा गर्दै सरकारले विश्वासको मत प्राप्त गरिनसकेकाले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका हुन् । उनले वार्षिक बजेट ल्याउनको लागि सरकारले विश्वासको मत प्राप्त गरेको हुनुपर्ने बताए।
उनले भने, फुल फेज वार्षिक बजेटको लागि विश्वासको मत प्राप्त गरेको सरकारले ल्याउनुपर्छ । वर्तमान सरकार नै अनिश्चित छ । ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नु वर्तमान सरकारलाई बाध्यता छ ।
चाडैँ नै यसले विश्वासको मत प्राप्त गरेर फुल फेज बजेटको घोषणा गर्नु उचित हुन्थ्यो । विश्वासको मत नलिइकन आगामि आर्थिक वर्षको लागि पूर्ण बजेट ल्याउनु मेरो बिचारमा उचित हुँदैन ।
सरकारले विश्वासको मत प्राप्त नगरि बजेट ल्याउनुपर्ने अवस्थामा काम चलाउ बजेट ल्याउनुपर्ने डा। महतले बताए । बजेट विधिपूर्वक ल्याउनुपर्ने र बजेट अघिको प्रिबजेट छलफल पनि जरुरी रहेको उनले उल्लेख गरे ।
विधिपूर्वक प्रिबजेटको बारेमा छलफल हुनु जरुरी छ । संसदमा राष्ट्रपतिको नीति, कार्यक्रम भाषण हुनुपर्छ । त्यसको आधारमा संसदमा पेश गरेर छलफल गरेपछि निर्णय गर्ने हो । त्यस्तो अवस्था अहिले छैन ।
त्यसकारण विश्वासको मत प्राप्त गरेर नै घोषणा गरेको भए उचित हुन्थ्यो । उनले बताए, ‘विश्वासको मत नलिइकन बजेट पेश गर्नुपर्ने अवस्था आयो भने अन्तरिक बजेट काम चालउ बजेट पेश गर्ने । राजश्व सम्बन्धी, करका दर तलमाथि गर्ने पनि होईन, कार्यक्रमहरुपनि तलमाथि गर्ने होइन, चालु कार्यक्रमहरुलाई निरन्तरता दिने गर्नुपर्छ ।
विगतमा पनि सरकारले अन्तरिम बजेट ल्याएको स्मरण गर्दै उनले अन्य राजनीतिक पार्टीहरुसँग पनि छलफल गरेर अन्तरिम कामचलाउ बजेट ल्याउनुपर्ने उनले बताए ।









































