वि.सं.२०८२ असार ३० सोमवार


skip this manthali

सुनिल थापा आज कांग्रेस प्रवेश गर्दै, सहमहामन्त्री बन्ने सहमति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका पूर्वमन्त्री सुनिल थापा मंगलबार नेपाली कांग्रेस प्रवेश गर्दैछन्।

राप्रपाका पूर्वमहामन्त्री थापासहित करिब ५० जना नेताहरू कांग्रेस प्रवेश गर्न लागेका हुन्।

‘थापासहित नेताहरू आज कांग्रेस प्रवेश गर्नुहुन्छ। दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा उहाँहरूलाई पार्टी प्रवेश गराउने कार्यक्रम छ,’ कांग्रेसका एक नेताले भने।

थापाले आफू कांग्रेस प्रवेश गर्दा महामन्त्री पद पाउनु पर्ने र केही नेतालाई केन्द्रीय सदस्य बनाउनु पर्ने माग सभापति शेरबहादुर देउवालगायत नेतासँग राखेका छन्।

तर कांग्रेस स्रोतका अनुसार आज प्रवेश गर्ने नेतालाई आजै पद दिने तयारी भने छैन।

‘सुनिल थापालाई सहमहामन्त्री दिने भन्ने लगभग सहमति भएको छ। आजै दिने कि एक-दुई दिनमा दिनेबारे छलफल भइरहेको छ,’ ती नेताले भने। कांग्रेसले राप्रपाबाट आउने केही नेताहरूलाई केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्य बनाउने पनि तयारी गरेको छ।

थापा राप्रपा संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा हुन्। राप्रपा एकतासँगै थापालगायत उनको समूह असन्तुष्ट थिए। थापाले राप्रपामा गणतन्त्रका पक्षमा आवाज उठाउँदै आएका थिए। थापासहित ३१ नेताले शनिबार संयुक्त रूपमा राप्रपामा राजीनामा दिएका थिए।