एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोनाविरूद्धको ८ करोड डोज खोप दिने घोषणा गरेका छन्।
यसअघि नै अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको ६ करोड खोप अरू मुलुकलाई दिने बताएको अमेरिकाका राष्ट्रपति बाइडेनले सोमबार थप दुई करोड डोज खोप पनि दिने बताएका हुन्।
‘हाम्रो मुलुक बाँकी संसारका लागि खोपको आर्सनल हुँदैछ,’ ह्वाइट हाउसमा बाइडेनले भने,‘जति चौडा सागरले पनि र जति अग्ला पर्खालले पनि हामीलाई सुरक्षित राख्न सक्दैन। अन्धाधुन्ध फैलिरहेको रोग र मृत्युले ती मुलुकलाई अस्थिर त बनाउँछ नै हामीलाई पनि खतरामा राखिरहन्छ।’
In the battle against the COVID-19 pandemic, our nation is going to be the arsenal of vaccines for the rest of the world. pic.twitter.com/LwU7Olic2V
— Joe Biden (@JoeBiden) May 18, 2021
अमेरिकामा अहिलेसम्म फाइजर, मोडेर्ना र जोन्सन एन्ड जोन्सनको खोपलाई प्रयोग अनुमति दिइएको छ भने अक्सफोर्ड/अष्ट्राजेनेकाको खोपलाई अनुमति दिइएको छैन। अमेरिकाले यसअघि अक्सफोर्ड/अष्ट्राजेनेकाको ४० लाख डोज खोप मेक्सिको र क्यानडालाई दिएको थियो।
बाइडेनले अमेरिकाले अब रूस र चीनले भन्दा बढी खोप अरू मुलुकलाई दिने र खोपको बदलामा मित्र राष्ट्रहरूसँग कुनै ‘सहयोग’ नमाग्ने बताए।
कुन-कुन मुलुकले खोप पाउँछन् भन्ने ह्वाइटहाउसले खुलाएको छैन। बाइडेन प्रशासनले आगामी दिनमा कुन मुलुकमा खोप पठाउने भन्ने निर्णय गर्नेछ।
बाइडेनले गत साता संसारका ४० प्रतिशत देशबाट नेताहरूले खोपको लागि आफ्नो प्रशासनलाई सम्पर्क गरेको बताएका थिए।
ती मुलुकहरूलाई ८ करोड डोज खोप दिने बाइडेनको घोषणालाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस एडनोम गेब्रेयेसुसले स्वागत गरेका छन्। उनले खोप वितरणका सहयोग गर्न कोभ्याक्स तयार रहेको पनि बताएका छन्।









































