सुनसरी । धरान उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख हर्कराज साम्पाङ राईले धरान एयरपोर्टको निर्माणस्थलको नाममा करिब अढाइ बर्षदेखि रोक्का गरेको धरान उपमहानगरपालिका–१७ डाँडाघोपाका जग्गा फुकुवा गरिएको छ ।
एयरपोर्ट निर्माणस्थलको नाममा डाँडाघोपामा पाँच सय भन्दा बढी घरपरिवारको जग्गा रोक्का राखिएको थियो । धरान एयरपोर्टको नाममा यति इन्कर्पोरेटले खरिद गरेको ६ विघा जग्गा बाहेकका अन्य जग्गाहरू फुकुवा गरेको हो ।
डाँडाघोपामा एयरपोर्ट बनाउने नाममा २०८० भदौ ११ गते तत्कालीन नगर प्रमुख हर्कराज साम्पाङ राईले जग्गा बिक्री वितरण सिफारिस गर्न रोक्का गर्ने निर्णय गरेका थिए । उनको यो निर्णयले प्रस्तावित एयरपोर्ट क्षेत्रमा रहेका सयौं जग्गाधनीहरू मर्कामा परेर पनि केही बोल्न सकेका थिएनन् ।
केही स्थानीय बासिन्दाले जग्गा रोक्का भएकाले आफूहरू मर्कामा परेको गुनासो साम्पाङलाई सुनाएका पनि थिए । तर, त्यतिबेला सुनुवाइ हुन सकेको थिएन । डाँडाघोपामा एयरपोर्ट नबन्ने टुङ्गो लागिसक्दा पनि जग्गा फुकुवा नगरी मेयर पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टी दर्ता गरी चुनावमा होमिए ।
राई पछि कार्यवाहक मेयरको रुपमा उपमेयर अइन्द्र विक्रम बेघा आए । स्थानीय बासिन्दाले एयरपोर्ट नबन्ने अवस्था भएकाले आफूहरूको जग्गा फुकुवा गरिदिन पटक पटक आग्रह गरेपछि फुकुवा गरिदिएको कावा मेयर बेघाले बताए ।
‘स्थानीय जग्गाधनीहरूबाट जग्गा फुकुवा गरिदिन निवेदन आएपश्चात यति इनकर्पोरेट प्रालिको नाममा भएको जग्गाबाहेक अन्य जग्गाहरूको बिक्री वितरण सिफारिश मंगलबारदेखि नै फुकुवा गरिएको छ,’ उनले भने, ‘जग्गा फुकुवाको निर्णयको पत्र वडा नं १७ को कार्यालयका साथै मालपोत र नापी कार्यालयमा पनि पठाइ सकिएको छ ।’









































